विराटनगर-विराटनगर महानगरपालिका भित्र बसोबास गर्ने सुकुम्बासीलाई हटाउने भन्दा पनि व्यवस्थित घर बनाएर उपयुक्त स्थानमा स्थान्तरण गरिने विराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीले बताएका छन । 

विराटनगरका केही वडाहरुमा ह्याविटाट, जीवन विकास समाज, साहारा नेपाल र महानगरको संयुक्त लगानीमा सुकुम्बासी र अब्यवस्थित बसोबासलाई ब्यवस्थित रुपमा घर बनाइदिएर सार्ने काम भइरहेको मेयर पराजुलीले जानकारी दिए । वडा नम्बर ५ को केसेलिया छेउमा ४५ वटा घर निर्माण भइरहेको र वडा नम्बर १२ मा १ सय ४५ वटा घर निर्माण गरि सुकुम्बासीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी । 

विश्ववातावरण दिवशको सन्दर्भमा खोर्जीकोहवरामा आयोजित डस्टविन वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मेयर पराजुलीले वडा नम्बर ४ मा रहेका सुकुम्बासी बस्ती र अब्यवस्थित बसोवास भएकाहरुका लागि सरकारी ऐलानी पर्ती जमिन खोजेर उनीहरुलाई स्थायी बसवासको व्यवस्था मिलाउन आफुलागि परेको बताए । उनले आफ्नो कार्याकाल भरि कुनैपनि सुकुम्बासीले अनावश्यक दुख नपाउने बताए । 

खार्जीकोहवराको सडक निर्माणका लागि आफुले पहल गरिरहेको र केन्द्रिय बजेटमा ५० लाख रुपैया बिनियोजन भएर आएको तर त्यसले नपुग्ने भएकाले आफुले प्रदेश सरकार समक्ष पनि पिच सडकको लागि पहल गरिरहेको उल्लेख गरे । 

कार्यक्रमका विशिष्ठ अतिथि वडा नम्बर ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले ऐतिहासिक संचारग्रामको अगाडीको सडकको दुरा अवस्था रहेकाले सबैले मिलेर पिच सडकको निर्माणका लागि पहल गर्नु पर्ने बताए । उनले वडा नम्बर ४ मा रहेका सुकुम्बासी र अव्यवस्थित बसोवासलाई ब्यवस्थित बनाउन पहिले नगरपालिकाको स्वामित्वमा रहेको ऐलानी जमिनको खोजी गरिरहेको र जमिन उपलब्ध भएपछि अन्य वडामा जस्तै जीवन विकास समाज, ह्याविट्याट र साहारा नेपालको सहयोगमा सुकुम्बासीलाई घर निर्माण गरेर हस्तान्तरण गरिने जानकारी दिए । 

वडा नम्बर ४ को विकासका लागि आफु भौतिक योजना तथा निर्माण मन्त्रालय सम्म पुगेको बताउदै अब खार्जी कोहवराको बाटो बाहेक हाइवेबाट पश्चिम तर्फ आउने सबै सडकहरु पिच बनिसकेको जानकारी दिए । उनले बस्ता पुलदेखी पश्चिम इक्राही सम्मको सडकका लागि पनि यो बर्ष ३ करोड रकम आएको जानकारी दिए । 

कार्यक्रममा नेपाली कांग्रेसका टोल कमिटी अध्यक्ष ज्योति गिरीले खार्जीकोहवराका सुकुम्बासीहरुलाई बसेकै स्थानमा चाहिने बाटो बाहेकको क्षेत्रमा स्थायी रुपमा बसोबास गर्न दिइनु पर्ने र सुकुम्बासी समस्या समाधान आयोगसंग मिलेर महानगर पालिकाले लालपूर्जा दिनु पर्ने माग गरे । 

स्थानिय समाजसेवी धजेन्द्र कार्कीले एक सय बर्ष पुरानो इतिहास बोकेको बाटो भएरपनि खार्जीकोहवराको पूर्वपश्चिमबाटो उपेक्षामा परेको बताए । उनले प्रदेश सरकार र संघिय सरकारले यो बाटो निर्माणको लागि आवश्यक बजेट बिनियोजनका लागि बजेटको माग गरे । 

कार्यक्रमको संचालन खार्जी कोहवरा टोल विकास समितिका अध्यक्ष केशव गिरीले गरेका थिए। कार्यक्रममा खार्जी कोहवरा दक्षिण टोल विकासका अध्यक्ष श्रीप्रसाद गौतम, उत्तर टोल विकासका अध्यक्ष कृष्ण धिताल र गोपी टोलविकास संस्थाकी अध्यक्ष निर्मला थापालाई फोहोर व्यवस्थापन गर्न १० थान डस्टविन मेयर पराजुली र वडाध्यक्ष पोखरेलले संयुक्त रुपमा हस्तान्तरण गरे ।