विराटनगर-  भारतीय सरकार र ट्विटरबीच पछिल्लो समय  विवाद उत्कर्षमा पुगेको छ । भारतको केन्द्र सरकारले ट्विटरलाई नयाँ डिजिटल नियम तुरुन्त लागू गर्न अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको छ ।विवाद उत्कर्षमा पुगेपछि ट्विटरले केही भारतीय नेताहरुको भेरिफिकेसन (ब्लु टिक) हटाइदिएको छ ।

ट्विटरले सत्तारुढ दल भाजपा निकट राष्ट्रिय स्वयंसेवक दल (आरएसएस)का प्रमुख मोहन भागवतको अकाउण्ट अनभेरिफाइ गरेको छ ।यस्तै संघका सुरेश सोनी, अरुणकुमार, सुरेश जोशी र कृष्णगोपालको पनि भेरिफिकेशन हटाइएको बताइएको छ । भारतमा गणतन्त्र दिवसको दिनमा भएको कृषि कानुनको विरोधको आन्दोलनमा किसानले ट्याक्टर र्याली निकालेका थिए ।

सोही आन्दोलनमा ट्विटरले आफ्नो समर्थन रहेको बताएपछि सरकार र ट्विटरबीच विवाद सुरु भएको थियो  । अहिले भारतमा बढिरहेको कोरोना संक्रमण नियन्त्रणमा पनि सरकारले प्रभावकारी काम गर्न नसेको भन्दै ट्विटरमा सर्वत्र विरोध भएपछि सरकार र ट्विटरबीचको विवाद झनै उत्कर्षमा पुगेको हो ।