विराटनगर - प्रदेश १ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियैतले पारिस्थितिक प्रणालीको पुर्नस्थापना हुन नसके भविष्यमा झन् जटिल अवस्था आउन सक्ने बताएकाछन । शनिबार (जुन ५) विश्व वातावरण दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताएकाहुन ।

मानिसका क्रियकलाप र प्राकृतिक प्रकोपका कारण वातावरण बिग्रँदै गएको हुनाले सबै जुटेर यसको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । उनले भने हाल भइरहेका विकासका शैली,मानव जीवन शैली, निर्माण सामग्री आदिको विकल्प नसोचिएमा यसले भविष्यमा ठूलो वातावरणीय क्षति गर्ने इंकित गर्दै वातावरण सुधार्र्न सबै लाग्नुपर्छ र प्रदेश १मा प्रदेश सरकार नेतृत्व लिन तयार छ ।  सो भर्जुअल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दैै प्राडा तेजनारायण मण्डलले पारिस्थितिक प्रणालीको पुर्नस्थापना गर्ने कार्यमा आफू दुई दशकअघिदेखि अनुसन्धान गर्दै आएको भए पनि विश्वको आँखा बल्ल खुलेको बताए ।

उनले बाढी,पहिरोलगायतका प्रकोपबाट बिग्रिएको प्रकृतिलाई कसरी सुधार गर्न सकिन्छ भनेर आफैँले गरेका अनुसन्धान विवरणहरु प्रस्तुत गरे । स्थानीय जातका बोटबिरुवाहरु रोपेर नै खेर गएका जमिनलाई सुधार्न सकिने नजिर उनले प्रस्तुत गरे । नेपाल जोलोजिकल सोसाइटीका केन्द्रीय अध्यक्ष प्राडा महेन्द्र महर्जनले प्रकृतिको अभिन्न अंगको रुपमा रहेको जीव जगतलाई संरक्षण गरेर सन्तुलित पारिस्थितिक प्रणाली कायम गर्न सकिएन भने प्रकृति तन्दुरुस्त हुन सक्दैन भने ।

‘नयाँ सोच र सिर्जना,प्रकृतिको पुर्नस्थापना’ भन्ने नाराका साथ मनाइएको यो दिवसका अवसरमा स्नातकोत्तर क्याम्पस, नेपाल जैविक समाज र नेपाल जोलोजिकल सोसाइटीले आयोजना गरेको उक्त संयुक्त कार्यक्रममा देश विदेशमा रहेका एक सय ५० जना वैज्ञानिक तथा वातावरण संरक्षणकर्मीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा नेपाल जोलोजिकल सोसाइटीका प्रदेश १ अध्यक्ष शालीग्राम अधिकारी,स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्री,नेपाल जैविक समाजका अध्यक्ष प्राडा शशिनाथ झा, कुलप्रसाद लिम्बू , वातावरण पत्रकार रामचन्द्र अधिकारीलगायतले धारणा राखेकाथिए ।