विराटनगर- मोरङको कर्सिया बजारमा रहेको फर्निचर उद्योग र होटलमा विहिबार बिहान आगलागी भएको छ । बिहान ९ बजेतिर फर्निचर उद्योगबाट सुरु भएको आगोले जलेर उद्योगसहित छेउमा रहेको एउटा नास्ता पसल (होटल) ध्वस्त भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा फर्निचर उद्योगबाट आगलागी सुरु भएको थियो । उद्योगबाट सुरु भएको आगोले नजिकै रहेको होटलमा पनि पूर्ण रूपमा क्षति पुगेको उनको भनाइ छ । फर्निचर रंगेली नगरपालिका–२ मंगलबारेका राजेन्द्र शर्मा र होटल पनि रंगेली–२ कै बद्रीकुमार कार्कीले सञ्चालन गरेकाथिए ।
आगलागीमा ७० लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगोले फर्निचर उद्योगमा ६० लाख बराबरको र होटलमा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण उद्योग र होटल दुवै बन्द थिए ।
बाहिरैबाट बन्द गरिएको अवस्थामा विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने डीएसपी राईको भनाइ छ । उनका अनुसार स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिन दुई घण्टाभन्दा बढी समय लागेकोथियो । घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

