विराटनगर-  प्रदेश १ को बजेट अधिवेशन आह्वान गर्ने सरकारले तयारी गरेको छ । सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शंका नर्गन समेत विपक्षी दलका नेताहरुलाई मुख्यमन्त्री राईले आग्रह गरेकाछन । प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग मंगलबार छलफल गर्दै उनले अध्यादेश मार्फत बजेट नआउने बताए ।

आगामी बजेट अधिवेशन र कोभिड महामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका नेताहरुसँग परामर्श गरेकाहुन । प्रदेशका विपक्षी दलहरुले संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै सार्वजनिक रुपमा आग्रह गर्नेदेखि प्रदेश प्रमुखसम्मलाई भेटेर दबाब दिँदै आएका थिए ।

यसरी संसद् अधिवेशन माग गर्ने दलका नेताहरुलाई बोलाएर मुख्यमन्त्रीले अध्यादेशबाट बजेट ल्याउने सरकारको कुनै मनसाय नभएको दाबी पनि गरे। मन्त्रीहरु स्वयंले प्रि–बजेट छलफल नगरे पनि हुने भन्ने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरुले आपत्ति प्रकट गरेका थिए । मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिएको माओवादी केन्द्र  संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले  बताए ।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र  संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र जनता  समाजबादी पार्टी संसदीय दलका नेता जयराम यादवको सहभागिता रहेको थियो ।  बढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत छलफल भएको मुख्यमन्त्री राईका सल्लाहकार ध्रुव सुवेदीले जानकारीदिए ।