विराटनगर -  विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका अलग अलग भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । डब्लुएचओले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’ नामाकरण गरेको छ  ।

ब्राजिलमा भेटिएको भेरियन्टको नाम ‘गामा’, राखिएको छ भने दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’ तथा भारतमा भेटिएका दुई प्रकारका भेरियन्टलाई ‘डेल्टा’ र ‘कप्पा’ नाम दिइएको छ ।

डब्लुएचओले ग्रीक भाषाबाट भाईरसको भेरियन्टलाई चिनाएको हो । भारतमा फेला परेका भेरियन्टहरु नेपालमा पनि देखिएकोले अब नेपालमा पनि यो भाईरसलाई कोभिड डेल्टा र कप्पा भन्नुपर्ने बताइएको छ ।ज्यादै संक्रामक मानिने ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिसकेको डब्लुएचओले बताएको छ ।

कोरोना भाइरसको भेरियन्टको नाममा सहजीकरण गर्न नयाँ नामकरण गरिएको हो ।यसअघि जुन देशमा नयाँ भेरियन्ट भेटियो, त्यही देशको नामबाट यसलाई चिनाउने गरिएको थियो । भियतनाममा हालै भेटिएको भनिएको नयाँ भेरियन्टलाई भने अहिलेसम्म नाम दिईएको छैन । यसको जेनेटिक कोड नैं सार्वजनिक गर्न बाँकी रहेको छ  ।