विराटनगर- नेपाल–भारत सीमा क्षेत्रको दशगजानजिक मोरङको रतुवामाईमा आज बिहान शङ्कास्पद अवस्थामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी २५÷३० वर्षका जस्तो देखिने पुरुषको शव रतुवामाई नगरपालिका–२ यादव टोलमा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

उनका अनुसार मृत फेला परेका पुरुषको पहिचान खुल्न बाँकी छ । घटनाका बारेमा अनुसन्धान थालिएको राईले बताए । उनका अनुसार घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका हुन् । मृतक नेपाली हुन कि भारतीय नागरिकभन्ने पनि खुल्न बाँकी छ ।

पुरुषको हत्या भएको हो या हैनभन्ने पनि यकिन हुन नसकिरहेको डिएसपी राईको भनाइृ छ । उनका अनुसार घटनास्थल दशगजाबाट लगभग एक सय ५० मिटरजति उत्तर नेपालतर्फ पर्छ ।

मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । शव भेटिएको स्थान वरपर मान्छेको बसोबास र वस्ती पनि कम छ । शङ्कास्पद अवस्थामा पुरुष मृत फेला परेपछि विभिन्न कोणबाट अनुसन्धान भइरहेको राईले बताए ।