विराटनगर- अवैध ढंगले एउटा घरभित्र स्टोर (भण्डारण) गरिएको अवस्थामा ठूलो परिणामको नमुना औषधि आज विराटनगरबाट बरामद गरिएको छ । फार्मेसीको अनुगमनमा निस्किएको प्रहरी र औषधि व्यवस्था विभागको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१६ भट्टीमोडबाट ४६ काटुन नमुना औषधि (चिकित्सक सेम्पल) बरामद गरेको हो ।
कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएका बेला अभाव हुनसक्ने औषधिको अवस्थाका बारेमा टोलीले अनुगमन थालेको थियो । त्यस क्रममा रवि रजकले आफ्नै घरमा स्टोर गरेर राखेको अवस्थामा ‘फिजिसियन सेम्पल’का रुपमा मात्रै प्रयोग गर्न मिल्ने र बिरामीलाई बिक्री गर्न नपाइने नमुना औषधि बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो । भारी मात्रामा नमुना औषधि स्टोर गर्ने रविलाई पनि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको एसपी खड्काले बताए ।
विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलका अनुसार आफ्नो नयाँ उत्पादनका बारेमा जानकारी दिन उत्पादक कम्पनीले बजार प्रतिनिधि (एमआर)मार्फत औषधिको नमुना चिकित्सकसम्म पुर्याउँछ । तर बिरामीलाई बिक्री गर्न नमिल्ने त्यही नमुना औषधि एउटा घरभित्र अवैध रुपले भण्डारण गरिएको अवस्थामा फेला परेको हो । कट्टेलका अनुसार एन्टिवायोटिक, कफ सिरफ, सेनिटाइजर, पेन किलर इन्जेक्सन लगायतका ४६ काटुन औषधि बरामद गरिएको छ । औषधि राख्नलाई प्रयोग गरिने सात काटुन खोल पनि बरामद भएको जानकारी कट्टेलले दिए । रविको घरनजिक उनका दाजु–भाउजू जितु रजक र शीतल पाण्डे (रजक)ले सञ्चालन गरिरहेको जितु मेडिको हल नामक औषधि पसल छ ।
नमुना औषधि उक्त पसलमा राखेर अनाधिकृत रूपमा बिक्री गर्ने गरिएको हुनसक्ने आशंका अनुगमन टोलीले गरेको छ । औषधि व्यवस्था विभागमा प्रल्हादप्रसाद सिंखडाको नाममा दर्ता रहेको पसल अर्कैले सञ्चालन गरिरहेको पाइएपछि बन्द गर्दै औषधि बिक्री वितरणमा रोक लगाएर आधिकारिक कागजपत्रसहित पाँच दिनभित्रमा उपस्थित हुन निर्देशन दिइएको कट्टेलले बताए । उनका अनुसार नमुना औषधि लेबल परिवर्तन गरेर झुक्याएर बिक्री गर्ने गरिएको हुनसक्ने आशंका छ । औषधि भण्डारणस्थलबाट अनुगमन टोलीले विभिन्न बैंकका एक सय ६८ वटा एटीएम कार्ड र ७२ वटा चेक पनि बरामद गरेको छ । एसपी खड्काका अनुसार बरामद भएको औषधिको कुनै बिलविजक, रेकर्ड र खरिद गरेको स्रोत केही छैन ।
आधिकारिकता र इजाजत बिना ठूलो परिणाममा नमुना औषधि भण्डारण गरिएको बारेमा औषधि व्यवस्था विभागसँग समन्वय गर्दै अनुसन्धान थालिएको उनले बताए । विभागका प्रमुख कट्टेलका अनुसार उत्पादनका बारेमा चिकित्सकलाई जानकारी दिन प्रयोग गरिने नमुना औषधि कुनै पनि उत्पादक कम्पनीले स्टोर गर्ने गरी यति धेरै उपलब्ध गराउन सक्दैन । उनका अनुसार नमुना औषधिको भण्डारण पनि अनाधिकृत ठाउँमा गरिएको छ । अथेष्ठ स्रोतसमेत नखुलाइकन कानुनविपरीत व्यक्तिको घरमा भण्डारण गरिएको औषधिका बारेमा गम्भीर रूपले अनुसन्धान थालिएको कट्टेलले बताए ।

