विराटनगर  -घरेलु टिम इराकविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा नेपाल बलियो टिम इराकसँग ६–२ गोल अन्तरले पराजित भएको हो ।बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे ।कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे ।

नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे ।खेलको सातौं मिनेटमा कप्तान खासिनले २५ यार्डबाट फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए ।तर, आठौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । अन्जन बिष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका खलाफले आत्मघाती गोल गरे । १३ औं मिनेटमा अन्जनले गोलको मौका गुमाए । इराकी डिफेन्डरको गल्तिको फाईदा उठाउदै अन्जनले प्रहार गरेको बल गोलकिपर फाहद तालिमले उत्कृष्ट बचाऊ गरे ।


खेलको २९ औं मिनेटमा मनिषको गोलबाट नेपालले २–१ को अग्रता बनायो । सन्तोष तामाङको  पासलाई सदुपयोग गर्दै इराकी गोलकिपर अघि बढेको अवस्थामा मनिषले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे । उनको यो डेब्यु खेलमा डेब्यु गोल हो ।३९ औं मिनेटमा मोहमद अब्दुल्जाराले हेडरमार्फत गोल गर्दै इराकलाई २–२ गोलको बराबरीमा ल्याए ।त्यसपछि इराकले नेपालविरुद्ध लगातार गोल गर्याे ।४० औं मिनेटमा अयमन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाए । रोहित चन्दको ब्याक पास नियन्त्रणमा लिदै उनले गोल गरेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाए ।खेलको ६७ औं मिनेटमा मोहनद  अलिले गोल गरेपछि  इराक ५–२ ले अघि रह्यो  । सुमन अर्यालको ब्याक पास नियन्त्रणमा लिदै उनले गोल गरे । खेलको ७५ औं मिनेटमा सजाद जासिमले गोल गर्दै इराकलाई ६–२ को फराकिलो जित दिलाए ।यस हारसँगै नेपाल इराकसँग चौंथो भेटमा समेत पराजित भएको छ । यस अघिको तीन भेटमा समेत नेपाल पराजित भएको थियो ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो ।अब नेपाली टिम विश्वकप छनोटका लागि कुवेत जाने छन् ।समूह बी मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ । यद्दपी बाँकी तीन खेल जिते दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना भने रहेको छ ।

नेपालको एसियन कपमा छनोट हुने सम्भावना समेत बाँकी रहेको छ ।नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । एसियाली पवार हाउसविरुद्ध अंक खोस्न सके नेपालले कम्तिमा एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छ ।अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।