विराटनगर- कोरोना महामारीले अवस्था जर्जर बनिरहेका बेला नेपालबाट भारततिर विगतदेखि नै हुने गरेको इन्धन (पेट्रोलीयम पदार्थ) को तस्करी अझै रोकिएको छैन । कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको समयमा पनि मोरङबाट इन्धनको तस्करी भइरहेको हो ।
कोरोना भाइरस सङ्क्रमण दर उच्च रहेको भारततिर मोरङको सिमावर्ती नाका हुँदै लैजाँदै गरेको अवस्थामा रतुवामाईबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा इन्धन नियन्त्रणमा लिएपछि तस्करीको पुष्टि भएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ बटालीयन हेडक्वार्टर टंकीसिनवारीबाट इन्सपेक्टर (प्रहरी निरीक्षक)को नेतृत्वमा खटिएको टोलीले आज बिहान पाँच हजार आठ सय लिटरजति इन्धन नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले ट्रकमा राखेर नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा २४ ड्रम इन्धन मोरङको रतुवामाई नगरपालिका–४ बाट नियन्त्रणमा लिइएको बताए । उनका अनुसार ट्रकसहित तस्करीको २३ ड्रम डिजेल र एक ड्रम पेट्रोल बरामद गरिएको हो । एउटा ड्रमभित्र लगभग दुई सय ५० लिटर डिजेल छ । २३ वटा ड्रममा डिजेल मात्रै पाँच हजार सात सय लिटरजति रहेको जानकारी पौडेलले दिए । एउटा मात्रै ड्रममा बरामद भएको पेट्रोल भने एक सय लिटरजति रहेको उनको भनाइ छ ।
सशस्त्रको टोलीले इन्धन तस्करीमा प्रयोग गरिएको मे १ ख १५०९ नम्बरको ट्रक पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका प्रवक्ता डीएसपी नवीनसिंह राईले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ इन्धन तस्करी गर्नेहरु ट्रक छाडेर फरार भएका थिए । चालकसहित अरु व्यक्तिहरु भागेपछि ट्रक नियन्त्रणमा लिएर खानतलासी गर्दा तस्करीको इन्धन बरामद भएको जानकारी राईले दिए। एसपी पौडेलका अनुुसार नेपाल–भारत सीमानजिकबाट ट्रकसहित तस्करीको इन्धन बरामद भए पनि त्यसको बिलविजक फेला परेको छैन ।
कोही पनि आफ्नो दाबी गर्दै नआएका कारण इन्धनलाई आवश्यक कारबाहीका लागि आईतबार विराटनगर भन्सार कार्यालयमा बुझाइने उनको भनाइ छ । डिजेल, पेट्रोल लगायतका इन्धनको मूल्य नेपालभन्दा भारतमा महँगो पर्ने भएकाले नेपालबाट भारततिर तस्करी हुने गरेको छ । नेपालमाभन्दा भारतमा डिजेल प्रति लिटर ३९ रुपैयाँ २८ पैसा र पेट्रोल ३२ रुपैयाँ ६६ पैसा महँगोे रहेको नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रवक्ता दिवश विष्टले बताए ।

