शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण, विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार  

विराटनगर-आर्थिक बर्ष २०७८/२०७९ को बजेटमा पनि शैक्षिक प्रमाणपत्र धितो राखेर दिइने ऋणलाई बढाएर २५ लाख पुर्‍याइएको छ । अघिल्लो आर्थिक बर्षमा ७ लाख मात्र ऋण दिने भनिएपनि प्रक्रिया झन्झटिलो भन्दै न्यून विद्यार्थीले मात्र ऋण लिन सकेका थिए । 

यो बर्ष विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ सरकारले दुई बर्षका लागि ऋण उपलब्ध गराउने भएको छ । जुन १ प्रतिशत ब्याजमा उपलब्ध गराइन लागिएको हो । दुई बर्ष भित्र ऋण चुक्ता गरि सक्नु पर्नेछ । १६ बर्ष माथिका विद्यार्थीलाई एक थान मोबाइलको सिम निशुल्क उपलब्ध गराइने छ ।

कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि ८ अर्ब ७३ करोड बजेट बिनियोजन गरिएको छ । दिवाखाजाबाट ३५ लाख विद्यार्थी लाभान्वित हुने छन । तीन बर्ष भित्र सबै तहका सामुदायिक विद्यालय, क्याम्पसको कक्षा, प्रयोगशाला, पुस्तकालय, खानेपानी, बैकल्पिक सिकाइ विधि अनुकलका भवन तथा पूर्वाधार निर्माण गरिने छन । 

विश्वविद्यालय अनुदान आयोग मार्फत गरिने अनुदानलाई बढाएर १८ अर्ब ३४ करोड बिनियोजन गरिएको छ । त्यसैगरि शिक्षा मन्त्रालयका लागि १ खर्ब ८० अर्ब ४ करोड बिनियोजन गरिएको छ ।