विराटनगर-  पछिल्लो १३ घण्टाभित्र कोरोना भाइरस सङ्क्रमणका कारण मोरङमा थप ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सात पुरुष र चार महिला छन् । दुई वृद्ध पुरुष र एक वृद्धा महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । मृतकमध्ये २२ देखि ५० वर्षसम्मका चार जना छन् ।

१० जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा चार, कोसी अस्पताल कोभिड उपचार युनिट, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई÷दुई जना सङ्क्रमितको ज्यान गएको छ । नोबेल अस्पतालमा सुनसरीको दुहवी नगरपालिका–३ का २२ वर्षीय युवकको आज बिहान ६ः४५ बजेतिर मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार युवकलाई उपचारका लागि जेठ ७ गते अस्पताल भर्ना गरिएको थियो । सुनसरीको इटहरी उमपहानगरपालिका–२० की ३९ वर्षीया महिलाको बिहान ६ बजेतिर नोबेलमै मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ ११ गते भर्ना गरिएको थियो । दाहालका अनुसार सिरहाको धनगढी नगरपालिका–१० का ७० वर्षीय वृद्ध पुरुषको बिहानका राति १ बजेतिर मृत्यु भएको छ । उनलाई वैशाख २५ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले बताए ।

उनका अनुसार मोरङको सुनवर्षी नगरपालिका–४ का ५८ वर्षीय पुरुषको बिहानका राति १२ः३० बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि जेठ १२ गते अस्पताल भर्ना गरिएको जानकारी दाहालले दिए । कोसी अस्पताल कोभिड उपचार युनिटमा विराटनगर महानगरपालिका–६ की ४० वर्षीया महिलाको मृत्यु भएको छ । उपचारका लागि हिजो भर्ना गरिएकी महिलाको आज बिहान ९ः१५ बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

उनका अनुुसार सिरहाको कल्याणपुर–७ का ५९ वर्षीय पुरुषको गय राति ८ः४० बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ १ गते अस्पताल भर्ना गरिएको थियो । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१४ की ५० वर्षीया महिलाको बिहानका राति ३ः४५ बजेतिर मृत्यु भएको छ । केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार सङ्क्रमित महिलालाई उपचारका लागि जेठ ६ गते ल्याइएको थियो ।

सुनसरीको बर्जु गाउँपालिका–२ का ६० वर्षीय पुरुषको पनि बिहान ४ः१५ बजेतिर मृत्यु भएको राजवंशीले बताए । उनका अनुसार मृतक पुरुषलाई जेठ ५ गते उपचारका लागि भर्ना गरिएको थियो । विराट शिक्षण अस्पतालमा मोरङको बूढीगङ्गा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको बिहानका राति २ः४५ बजेतिर मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार पुरुषलाई उपचारका लागि जेठ ८ गते भर्ना गरिएको थियो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको उपचारकै क्रममा विराटमा मृत्यु भएको छ । जेठ ७ गते भर्ना गरिएकी महिलाको गय राति ९ बजेतिर मृत्यु भएको जानकारी देवले दिए । उता मोरङको लेटाङ नगरपालिका–३ का ५२ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।

पीसीआर परीक्षण गराउँदा उनलाई जेठ ९ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिए पनि घरमै आराम गरेर बसिरहेका पुरुषको एक्कासि स्वास्थ्यमा समस्या देखिएर गय राति ९ः३० बजेतिर मृत्यु भएको जानकारी नगरपालिकाले दिएको छ ।