विराटनगर- विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्दै होटल सञ्चालन गर्ने नौ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङले जरिवाना तिराउने फैसला गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका समयमा ग्राहाकलाई मदिरा बिक्री गरिरहेका बेला पक्राउ परेकालाई मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको इजलासले पहिलो पटक जरिवानाको फैसला सुनाएको हो ।
फैसलासँगै होटल एवं मदिरा पसलका नौ जना सञ्चालकसँग जरिवानावापत जनही २५ हजार रुपैयाँ जरिवाना लिइएको जिल्ला प्रशासन कार्यालय मोरङका नायव सुब्बा रमेशकुमार निरौलाले जानकारी दिए । उनका अनुसार विराटनगर महानगरपालिका–४ का देवानन्द थन्दार, सालो गिरी, विराटनगर–९ का गौतम वर्णमाल, गोपाल भट्टराई, विराटनगर–१५ की मीनु तामाङ, विराटनगर–१६ का ओमनाथ चौधरी, सञ्जय यादव, बहादुर यादव र विराटनगर–१७ का कृष्ण भुजेलले जरिवानावापतको रकम तिरेका छन् ।
बिहिबार भएको फैसला अनुसार जरिवानावापतको रकम तिर्ननसक्दा बहादुर यादव पूर्पक्षका लागि कारागार चलान भएका थिए । तर फैसला भएको भोलिपल्ट शुक्रबार जरिवाना तिरेर उनी कारागारमुक्त भएको निरौलाले बताए । उनका अनुसार अरु आठ जना फैसला अनुसार जरिवानावापतको रकम तिरेर बिहीबार नै छुटेका थिए । प्रहरीले बुधबारराति पक्राउ गरेर नौ जनालाई नै कारबाहीका लागि भोलिपल्ट प्रशासनमा उपस्थित गराएको हो ।
होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ परेका सात जनालाई भने जनही एक हजार रुपैयाँ जरिवाना तिराइएको निरौलाले बताए । सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाहीस्वरूप जरिवाना तिराउने फैसला पहिलो पटक प्रशासनले गरेको निरौलाको भनाइ छ । निषेधाज्ञा उल्लंघन गर्दै कोरोना फैल्याउने खालका गतिविधी गर्नेलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन थालिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

