विराटनगर-नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ प्रदेश समितिको समन्वय र एशियन थाइफुट्सको सौजन्यमा सुनसरी मोरङ औद्योगिक करिडोर अन्तरगतको दुहवी नगरपालिकामा रहेका २००० श्रमिक परिवारलाई २५ लाख मूल्य बराबारको राहत सामाग्री मंगलबार हस्तान्तरण गरिएको छ ।
एशियन थाइफुड्सको प्राङगणमा भएको राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले लक डाउनले उद्योगहरुको उत्पादन कटौति भएको र कतिपय उद्योगहरु बन्द भएकाले विहान बेलुका छाकटार्न समस्या भएका मजदुरहरुलाई एक साता सम्म पुग्ने खाद्यान्न वितरण गरिएको बताए ।
यो पटकको राहत सामाग्रीको ब्यावस्था एशियन थाइफुट्सले गरेपनि अन्य स्थानका मजदुर परिवारहरुको हकमा समेत यस्तै प्रायोजन गर्ने उद्योग र संस्थाहरु जुटाएर प्रदेश १ का मजदुहरुलाई वितरण गर्दै जाने अध्यक्ष घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेले दुहवी नगरपालिकाका ५ वटा वडाका २००० हजार मजदुर परिवारलाई पहिलो चरणमा राहत वितरण गर्न सम्बन्धित वडाका वडाध्यक्षहरुलाई नै राहत प्याकेज सामाग्री हस्तान्तरण गरे ।
राहत सामाग्री वितरण कार्यक्रममा उपस्थित हुन नसकेपनि मानविय सेवाका लागि जहिले पनि एशियन ग्रुप तयार रहने प्रतिक्रिया एशियन थाइफुट्सका संचालक महेश जाजूले दिए । उनले भने‘यो महामारी मानव जातीकै लागि चुनौति हो, त्यसैले सकेको एकले अर्कालाई सहयोग गरेर बचाउनु पर्छ ।’
दुहवी नगरपालिकाका २, ८, ९, १०, ११ वडा नम्बरका वडाध्यक्षहरुलाई प्रत्येक वडाका चार सय जनालाई एक साता पुग्ने सामाग्री हस्तान्तरण गरिएको हो । ९ नम्बर वडाका वडाध्यक्ष मेहदी हुसैनले आयोजकहरुलाई धन्यवाद दिदै विपन्न परिवारलाई इमान्दारीताका साथ राहत सामाग्री वितरण गरिने जानकारी दिए ।
एशियन थाइफुड्सका महाप्रवन्धक समीर शाहका अनुसार एक पोका राहत सामाग्री भित्र ५ केजी चामल, एक केजी दाल, एक लिटर खानेतेल, एक केजी नून, ५ प्याकेट चाउचाउ, एक पोका विस्कुट, भटमासको मस्यौरा र १० थान मास्क रहेको छ । जुन २००० पोका छन । दुवही नगरपालिकाका ५ वटा वडामा ४०० सय परिवारको दरले वितरण गरिने छ । कुल राहत सामाग्री २५ लाख मुल्य बराबरको हो ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष दीपक पौडेलले कोरोना भाइरसको कारण मानव जीवननै संकटमा परिरहेको यस घडीमा दुई छाक खान धौधौ परिरहेको परिवारलाई राहत वितरण गर्न पाउदा खुसी लागेको बताए । उनले आगामी दिनमा संघको सक्रियतामा अन्य स्थानका मजदुर परिवारलाई समेत राहत वितरण गरिने जानकारी दिए ।

