विराटनगर - मोरङमा निषेधाज्ञा ६ दिन थपिएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले सात दिन निषेधाज्ञा थप गरेको हो ।
यस अघि लागू भएको निषेधाज्ञा मङ्गलबारबाट सकिदै थियो । सोमबार बसेको जिल्ला स्तरीय कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट लागु हुनेगरि ६ दिन निषेधाज्ञा थप गरेको हो । जिल्लामा जेठ १७ गतेसम्म निषेधाज्ञा रहने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । थप गरिएको अवधीमा कडाई गर्ने निर्णय भएको उनले बताए ।
बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ १७ गतेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए ।
उनले यसपटक सुनसरी, मोरङ र झापाको निषेधाज्ञामा एकरुपता कायम गर्ने निर्णय समेत गरिएको जानकारी दिए ।‘ गत बैशाख ३१ गतेदेखि लागु हुने गरि जारी गरिएको निषेधाज्ञाको समयावधि पनि जेठ ११ गते मङ्गलबार समाप्त हुँदैछ ।

