विराटनगर-  पसल खुला नराख्न र निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै पुगेको प्रहरी टोलीमाथि विराटनगर महानगरपालिका–१ पुष्पलाल चोकमा हिजोसाँझ आक्रमण भएको छ । कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेका बेला भीडभाड नगर्न, पसल बन्द गर्न र नियमको पालना गर्न आग्रह गर्दै पुगेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राई नेतृत्वको टोलीमाथि साँझ ७ बजेतिर आक्रमण भएको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले आक्रमणको पुष्टि गरे ।

उनका अनुसार आक्रमणबाट डीएसपी राईसहित चार जना प्रहरीलाई चोट लागेको छ । बाँस र भाटाले आक्रमण गर्दा राईको पाखुरा र शरीरका केही भागमा चोट लागेको छ । अरु प्रहरीको पनि शरीरका विभिन्न भागमा चोट रहेको एसपी खड्काले बताए । उक्त समूहले डीएसपी राईका अंगरक्षक प्रहरी जवान रामबहादुर तामाङले लगाएको पोसाक पनि च्यातिदिएको छ । प्रहरी पुग्दा पसल खुला राखेर भीडभाडसाथ तरकारी लगायतका सामाग्रीको किनबेच भइरहेको थियो ।

प्रहरीले सुरुमा सम्झाईबुझाई गरेर पसल बन्द गर्न आग्रह गरेको थियो । तर केही बेरपछि पुग्दा पनि पसल बन्द नगरेको र भीडभाड झन् बढेको पाइएको एसपी खड्काले बताए । बारम्बार बन्द गर्न आग्रह गर्दा पनि अटेर गरिरहेको समूह बाँस र भाटा लिएर आक्रमणमा उत्रिएको उहाँले बताए। प्रहरीमाथि आक्रमण हुन थालेपछि पुष्पलाल चोकको अवस्था केहीबेर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट थप मद्धतका लागि गएको प्रहरी टोलीले आक्रमणमा संलग्नमध्ये पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–१ की ४० वर्षीया आशा साह, १८ वर्षीया मेनुका साह, २२ वर्षीया अञ्जना साह, १९ वर्षीया उषा साह र अजय साह रहेका छन् । एसपी खड्काले पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही अघि बढाउन अनुसन्धान भइरहेको जानकारी दिए । कोरोना तीव्र रुपमा फैलिइको मोरङमा संक्रमणको ‘चेन ब्रेक’ गर्नका लागि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको समयमा पनि प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म तरकारी, फलफूल, दूध, खाद्यान्न लगायत अति आवश्यकीय वस्तु खरिद एवं बिक्री गर्न खुला गरिएको छ ।