विराटनगर - कोरोना भाइरस सङ्क्रमणका कारण विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरको आज बिहान निधन भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगर महानगरपालिका–१० घर भएका ५० वर्षीय परासरको बिहान ७ बजेतिर निधन भएको हो ।

उहाँलाई उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या थियो । परासरलाई परीक्षण गराउँदा दुई साताअघि कोरोना सङ्क्रमण पनि पुष्टि भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवले बताउनु भयो । कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै रहेका बेला स्वास्थ्यमा थप समस्या भएपछि उहाँलाई वैशाख ३१ गने उपचारका लागि अस्पताल भर्ना गरिएको हो । निक्कै गम्भीर अवस्थामा अस्पताल ल्याइएका परासरलाई धेरै प्रयास गर्दा पनि बचाउन नसकिएको जानकारी देवले बताउनु भयो । उहाँका अनुसार श्वासप्रश्वासमा एक्कासि समस्या भएर उपचारकै क्रममा भेन्टिलेटरमा निधन भएको हो । परिवारका सदस्यले स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको बताइरहेका बेला एक्कासि परासरको निधनको खबर आएको विराटनगर भन्सार एजेन्ट प्रतिनिधि सञ्जय दुगडले जानकारी दिनु भयो ।

उहाँका अनुसार उपचार गराएर परासरले उच्च रक्तचाप र मधुमेहको औषधि नियमित औषधि सेवन गरिरनु भएको थियो । दुगडले शान्त र सालीन स्वभावका अभिभावक गुमाउँदा भन्सार एजेन्ट सङ्घ र समग्र भन्सार क्षेत्रलाई ठूलो क्षति पुगेको बताउनु भयो । परासर मोरङ व्यापार संघ र उद्योग वाणिज्य संघ प्रदेश १ को कार्य समिति सदस्य तथा प्रदेश १ को भन्सार सम्बन्धी समितिका संयोजकसमेत रहेको जानकारी उहाँले दिनु भयो । सङ्का अध्यक्ष परासरको यो तेस्रो कार्यकाल थियो । २०६९ सालदेखि निरन्तर विराटनगर भन्सार एजेन्ट सङ्घको नेतृत्वमा रहेर परासरले यसअघिका दुई कार्यकाल सफलतापूर्वक रुपमा सम्पन्न गर्नु भएको थियो । तीन महिनाअघि भएको निर्वाचनमा सङ्का पूर्वअध्यक्ष प्रवीण जोशीलाई हराउँदै परासर तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित बन्नु भएको थियो ।

दुगडका अनुसार २०६२ देखि २०६९ सालसम्म जोशी अध्यक्ष हुँदा परासर सङ्घमा उपाध्यक्षको भूमिकामा हुनुहुन्थ्यो । सङ्घका अध्यक्ष परासरको निधनमा विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले गहिरो दुःख व्यक्त गर्नु भएको छ । भण्डारीले परासरप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गर्नु भयो । उहाँका अनुसार परासर भन्सार प्रशासन र एजेन्टका बीचमा समन्वयकारी भूमिका निर्वाह गर्ने असल नेतृत्वकर्ता हुनुहुन्थ्यो ।

‘व्यापार सहजीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका असल व्यक्ति गुमाउनु पर्दा अत्यन्तै पीडा भएको छ,’ भन्सार प्रमुख भण्डारीले भन्नु भयो, ‘सबैका सहयोगी तथा उच्च समन्वयकारी क्षमता भएका व्यक्तिले कोरोना महामारीका कारण पूरा जीवन बाँच्न नपाउने अवस्था बन्दा समग्र भन्सार क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ ।’