विराटनगर-  मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको हत्यामा संलग्न पुजन राईलाई प्रहरीले पक्राउ गरेको छ । २३ वर्षीय राईले धारिलो हतियार बाम्फोक (दाउ)ले घाँटीमा प्रहार गरेर हत्या गरेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

हत्या आरोपमा पक्राउ परेका राईले पहिल्यैदेखि रिस उठेकाले बाम्फोकले हानेर हत्या गरेको प्रहरीलाई बताएका छन् । राईका अनुसार भाइको घरमा खाना खाएपछि गयराति आफ्नै घरमा आएर सुतेका विष्णुको बीभत्स हत्या भएको हो । घाँटीको अगाडिको भागमा काटेर क्षतविक्षत बनाउँदै हत्या गरिएको अवस्थामा घरभित्र ओछ्यानमा शुक्रबार बिहान शव भेटिएको डीएसपी राईले बताए ।

ज्यालामजदुरी गरेर जीविका चलाउने विष्णु काममा नगएपछि बोलाउन गएका साथीहरुले घरभित्रै हत्या गरिएको अवस्थामा शव देखेर प्रहरीलाई खवर गरेका हुन् । घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ परेका हत्यामा संलग्न राईविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइने जानकारी प्रहरीले दिएको छ ।