विराटनगर - औषधिमा बढी मूल्य लिएर कालोबजारी गर्ने एक जना विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ स्थित विराट नर्सिङ होमअगाडि रहेको फार्मेसी सञ्चालक सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर भएका २२ वर्षीय रविन्द्र महतो रहेका छन् ।

विराट अस्पतालनजिक पश्चिमवासी फार्मेसी सञ्चालन गर्ने उनले फार्मेसीमा औषधि बिक्री गर्दा दुई वटा खाता बनाउने गरेको र एउटा खातामा औषधिको वास्तविक मूल्य लेख्ने अनि अर्काे खातामा बढी मूल्य लेख्नेगरेको र ग्राहकलाई  बढी मूल्यको खाता देखाई औषधिको बढी मूल्य लिने गरेको खुलेको छ ।

बढी मूल्य लिने गरेकोपाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।उनका अनुसार महतोले सिरहाकै बरियारपट्टी गाउँपालिका–३ का ४५ वर्षीय रामनारायण मुखियालाई वैशाख २५ गतेदेखि ३० गतेसम्म ठगी गर्दै बढी मूल्य लिएका प्रहरीले बताएको छ । प्रहरीले कालोबजारी गरिरहेको सूचना पाएपछि प्रारम्भिक अनुसन्धान गर्दा महतोलाई जेठ ६ गते बिहिबार साँझ ५ बजे उनकै फार्मेसीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि कालोबजारी तथा  अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान शुरु गरिरहेको डिएसपी राईले जानकारी दिए ।