विराटनगर- घरमा एक्लै बस्दै आएका पुरुषको मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लोचनीमा सुतेकै ओछ्यानमा बीभत्स तरिकाले हत्या गरिएको छ । धारिलो हतियार प्रहार गरी घाँटीको अगाडिको भाग क्षतविक्षत बनाएर हत्या गरिएको अवस्थामा सुन्दरहरैँचा –३ का ४० वर्षीय विष्णु ऋषिदेवको शव आज बिहान भेटिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार घाँटीमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको बीभत्स शव फेला परेको छ । गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रो घरमा विष्णु एक्लै बस्ने गरेको उनले बताए । श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ । विष्णु भाइको घरमा खाना खाएर राति सुत्न आफ्नै घर आएको खुलेको छ ।
राईका अनुसार घटनास्थल रगताम्य अवस्थामा भेटीएको छ । मृतकको शरीर तथा वरपर रगत लतपतिएको अवस्थामा शव भेटिएको हो । घटनाको प्रकृति हेर्दा निदाएका बेला धारिलो हतियारले घाँटीको अगाडिको भागका काटेर हत्या गरिएजस्तो देखिने राईको भनाइ छ । ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएका विष्णु दैनिक बिहानै उठेर काममा जाने गर्दथे । ढिलोसम्म पनि काममा ननिस्किएपछि बोलाउन गएका साथीहरुले घरभित्रै खाटमा हत्या गरिएको अवस्थामा विष्णुलाई देखेर प्रहरीलाई खवर गरेको जानकारी डीएसपी राईले दिए ।
घटनाका बारेमा बिहान ७ बजेतिर जानकारी पाएको प्रहरीले अहिलेसम्म हत्यामा संलग्नको पहिचान खुल्न नसकेको बताएको छ । गम्भीर ढङ्गले अनुसन्धान थालिएका कारण घटनाको वास्तविकता चाँडै पत्ता लाग्ने राईको भनाइ छ । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङको नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ ।

