विराटनगर–हुण्डी मार्फत प्राप्त भएको रकम बुझाउन बोकेर हिडेका विराटनगर १३ झमेली चोकका ३३ बर्षिय अमृतकुमार साह सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हुण्डी बैंकीङ प्रणाली भन्दा बाहिर गरिने रकमको लेनदेन हो । जसलाई नेपालमा अवैध मानिन्छ । उनीहरुको साथबाट प्रहरीले २१ लाख ७१ हजार ५ सय रूपैयाँ बरामद गरेको छ ।


उनीहरुलाई सुराकीको आधारमा प्रहरीले विराटनगरको रोडेशष चौकबाट बिहीबार दिउँसो उक्त रकम सहित पक्राउ गरेको हो । २५ वर्षिय श्रवण साह, रंगेली नगरपालिका १ बवियाविर्ताकी २५ वर्षिय जिज्ञासा चौधरी र विराटनगर १३ झमेली चोकका ३३ वर्षिय अमृत कुमार साह सुडीलाई हुण्डीको रकम सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।


श्रवण साहले बोकेको रातो रंगको भिर्ने झोला भित्र २१ लाख ७१ हजार ५ सय रुपैयाँ फेला परेको थियो । साहलाई पक्राउ गरेपछि प्रहरीले जिज्ञासा चौधरीलाई पनि निण्न्त्रणमा लिएको थियो । उनको साथबाट २३ हजार नगद बरामद भएको डिएसपी राइले बताए ।


साह र चौधरीलाई पक्राउ गरेपछि थप अनुसन्धानको क्रममा हुण्डी कारोबारमा संलग्न अमृत कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हुण्डी कारोबारी साहलाई उनको घरबाट नियन्त्रणमा लिएको थियो ।


हुण्डी कारोबारी साहको घरबाट प्रहरीले नगद भौचार, डिपोजिट रसिद समेत फेला पारेको छ । कारोबारी साहले २०७७ चैत्र महिना देखि हुण्डी कारोवार वाट्सअप माफर्त विभिन्न बैकको नाम खातामा रकम जम्मा गरेको पनि प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ ।