विराटनगर-लकडाउनका बेला चल्ने ढुवानीका साधनलाई रोकेर दुख दिने, खाली गाडी गन्तब्यमा पुग्न नदिने अनि लोडअनलोडका कामदारले हिड्न नपाएपछि राजधानी काठमाडौंबाट अन्य जिल्ला खुद्रा सामान लिएर जाने ढुवानीका साधन १० दिनलाई बन्द गरिएका छन । मुलुकका अन्य जिल्लाको अवस्था पनि उस्तै रहेको गुनासो ढुवानी व्यवसायीहरुले गरेका छन ।


राजधानीका ढुवानीका तीन वटा संगठन संयुक्त ढुवानी संघ, काठमाडौं ढुवानी व्यवसायी संघ र नेपाल सामान ढुवानी व्यवसायी संघले संयुक्त रुपमा विज्ञप्ती जारी गरि १० दिनका लागि उपत्यका बाट बाहिरि जिल्ला जाने लोकल समानहरु ढुवानी नगर्ने जनाएको छ ।  


उनीहरुले जेठ ११ गते सम्मका लागि दुई, चार किलो, दुई चार कार्टुन र एक दुई बोरा सामानहरु संकलन गरि जिल्ला जिल्लामा झार्दै जाने सामाग्रीहरुको हकमा प्रशासनले समन्वयन नगर्दा ढुवानी साधान चालक सहचालक, लोडअनलोड गर्ने मजदुरले दुख पाएका कारण प्रशासनको ध्यानाकर्षण गर्न सामान ढुवानी नगर्ने निणर्य गरेको ढुवानी ब्यवसायी महासंघका अध्यक्ष विश्वनाथ खनालले जानकारी दिए ।  


यस अघि बैशाख २२ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ४ बुँदे माग पेश गर्दै ढुवानीका साधनहरुलाई लकडाउनका बेला स्वास्थ्य मापदण्ड पालना गर्दै आवतजावतको सहज वातावरण मिलाइदिन ढुवानी व्यवसायी महासंघले ज्ञापन पत्र बुझाएको थियो । अध्यक्ष खनालका अनुसार प्रशासनले ढुवानी व्यवसायीहरुको कुरा नसुनेपछि उपत्यकाका तीनवटा संगठनले विरोधको कार्यक्रम राखेका हुन । 


ढुवानीका साधन, कर्मचारी र मजदुरको हकमा ढुवानी कम्पनीको परिचय पत्र, विल विजकका आधारमा काममा निर्वाध जान आउन र ढुवानीको साधानलाई समेत नरोक्न गरिएको आग्रह विपरित प्रहरीले विभिन्न स्थानमा गाडी खडा राखिदिनाले समस्या भइरहेको अध्यक्ष खनालले बताए । 


महासचिव अरुणकुमार श्रेष्ठका अनुसार मालसामान ढुवानीकै क्रममा कतिपय स्थानमा अत्यावश्यक सामाग्रीहरु लोड गर्न जाने र अनलोड गरिसकेपछि फर्कने ढुवानीका साधनहरु घटौं सम्म होल्ड गरिदिनाले असहज परिस्थिति श्रृजना भएको छ । 


त्यसैगरि काठमाडौंको सानो भर्‍याङ र ठुलो भर्‍याङमा रहेका ५५ वटा ढुवानी कम्पनीहरुले राजधानीबाट देशभरि बाट आउजाउ गर्नु पर्ने तर प्रशासन कार्यालय विहान ७ बजेदेखी १० बजे भित्र मात्र छिर्न र निस्कन पाउने नियमले ढुवानी व्यवसायीहरु मर्कामा परेकाले यस समय सिमालाई बढाइ २४ सै घण्टा बनाउन गरिएको मागलाई समेत प्रशासनले वेवास्ता गरेको कारण मालसामान उपत्यका भित्र्याउन र बाहिर पठाउन निकै ठुलो समस्या रहेको महासचिव श्रेष्ठले बताए । 


राजधानीबाट इटहरीको औषधि पसलका लागि ४ कार्टुन, दमकको २ कार्टुन र विर्तामोडका व्यापारीको सेनिटाईजर लगायतका खुद्रा समान संकलन गरेर गरिने ढुवानी सेवा प्रशासनको अर्कमन्यताको कारण ठप्प हुन पुगेको अध्यक्ष खनालले बताए । 


ढुवानी महासंघका निर्वतमान अध्यक्ष शान्तकुमार ढुमजनले लकडाउनको बेला ज्यान जोखिममा राखेर गरिरहेको ढुवानीको कामलाई राज्यले सकारात्मक रुपमा लिनु पर्नेमा नकारात्मक रुपमा लिएकाले अहिले ढुवानीमा ठुलो समस्या श्रृजना भएको बताए । उनका अनुसार ड्राइभर गाडी सम्म आइपुग्न समस्या, लेबर उद्योग सम्म पुग्न कठिनाई, सामान लोड गरेर निस्कीयो जिल्लाका नाका नाकामा चेकजाचको नाममा घटौं गाडी खडा गर्नु पर्ने समस्या रहेको छ । 


प्रहरी र प्रशासनको सकारात्मक दृष्टि ढुवानी व्यवसायीमाथि नहुदा बाटोमा चालकले खाना खाने होटल समेत पाइरहेका छैनन । जबकी प्रशासनले ढुवानीका साधानका चालकलाई स्वास्थ्य मापदण्ड अपनाएर खाना खाने होटलको व्यवस्था मिलाइदिनु पर्ने हो । अति आवश्यक सामानको ढुवानी गर्ने गाडीहरुलाई समेत दुःख दिने नियतले रोक्ने गरिएको ढुमजनले बताए । 


विराटनगर ट्रक व्यवसायी संघका पूर्व अध्यक्ष मेघराज सिग्देलले राज्यले ढुवानीको प्रणलीलाई नै बुझ्न नसकेको बताए । राज्यको लाइफलाईन हो ढुवानी भनेको भन्ने शासकहरुले नबुझ्दा जहिले पनि तल्लो स्तरमा काम गर्ने ड्राईभर, लेबर र कर्मचारीले दुख सहनु परेको छ । सबै कागजपत्र ठिकठाक हुदाहुदै पनि बाटोमा रोक्ने र दुख दिने गर्दा यस्तो कठिन परिस्थितिमा पनि काम गरिरहेको ढुवानी कर्ता र त्यहा जोडिएका तमाम व्यवसायी उत्साहित छैनन बरु दुखी छन ।