विराटनगर - नम्बर नखुलेको सवारी साधनले स्कोरपिओलाई ठक्कर दिँदा मोरङको पथरीशनिश्चरेमा भएको दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिरामी आफन्तलाई हेर्नका लागि मोरङको कानेपोखरी आउने क्रममा गयराति १२ बजेतिर भएको दुर्घटनामा स्कोरपिओमा सवार अरु तीन जना घाइते भएका छन् ।

दुई जनाको अवस्था चिन्ताजनक छ । बिरामी आफन्तलाई हेर्न आएका पाँच जना सवार रहेको मे १ च १८५१ नम्बरको स्कोरपिओ गाडी पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ जय चोकमा दुर्घटनामा परेको हो । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार दुर्घटनामा झापाको झापा गाउँपालिका–५ का ५३ वर्षीय लक्ष्मीप्रसाद पौडेल र मोरङको रङ्गेली नगरपालिका–३ रञ्जनीकी ७६ वर्षीया विष्णुमाया शिवकोटीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमध्ये विष्णुमाया लक्ष्मीप्रसादकी सासूआमा हुन् । दुवै जनाको शवलाई पोस्टमार्टमका लागि मोरङ उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ ।

दुर्घटनामा परेर स्कोरपिओ चालक झापा बिर्तामोड नगरपालिका–२ चारपानेका ३३ वर्षीय विकाश उप्रेती, झापा गाउँपालिका–२ की ४५ वर्षीया विनिता पौडेल र झापा हल्दिबारी गाउँपालिका–५ का २५ वर्षीय रोशन उप्रेती घाइते भएका छन् । विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेकामध्ये विनिता र रोशनको अवस्था गम्भीर छ । चालकको अवस्था सामान्य रहेको एसपी शर्माले बताए । सामान्य अवस्थाका घाइते विकाशका अनुसार मोरङको कानेपोखरी गाउँपालिका–२ मा बिरामी हेर्न आउने क्रममा दुर्घटना भएको हो । कानेपोखरीमा विकाशका सानोबुवा ससुरा गम्भीर बिरामी थिए ।

अवस्था निक्कै जटिल बनेको खबर पुगेपछि आफन्तहरु भेला भएर हेर्नका लागि आउने क्रममा दुर्घटनामा परेको र बिरामीलाई हेर्न जान नपाएको जानकारी विकाशले दिएकाछन । प्रहरीले घटनास्थलबाट शंकास्पद रुपमा एउटा नम्बर प्लेट फेला पारेको छ । दुर्घटनास्थलमा ना २ ख ९४७३ नम्बरको प्लेट फेला परे पनि घटना गराउने सवारी साधनको पहिचान हुन नसकेको एसपी शर्माले बताए ।

दुर्घटना बस या ट्रकमध्ये एउटा सवारी साधनले गराएको हुनसक्ने उनको अनुमान छ । दुर्घटना गराउने सवारी साधनले कुनै नक्कली नम्बर प्लेट फ्यालेर फरार भएको पनि हुनसक्ने प्रहरीको आशङ्का छन् । दुर्घटना गराएर फरार रहेको सवारी साधनको तीव्र रुपमा खोजी थाल्दै पहिचानको प्रयास भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनले दुर्घटनामा परेर स्कोरपिओ गाडीमा पूरै क्षति पुगेको जानकारी दिए ।