विराटनगर-  सुरक्षाकर्मी कोरोना भाइरसको महामारी नियन्त्रणमा सक्रिय हुनपर्ने अवस्था आएपछि मोरङको सिमावर्ती नाकाबाट तस्करी मौलाइएको पाइएको छ । कोरोना महामारीले मुलुकको अवस्था जर्जर बनाउँदै लगेका बेला भन्सार छली गरेर सामानको अवैध तस्करी गर्ने समूह सक्रिय भएको हो । सुरक्षाकर्मी कोरोना नियन्त्रणमा सक्रिय हुँदा त्यसको फाइदा नेपालबाट भारत र भारतबाट नेपालतिर सामानको तस्करी गर्ने गिरोहले लिइरहेको छ ।

भारतको जोगवनीदेखि ल्याएको एक लाख ५६ हजार रुपैयाँ बराबरको तस्करीको कपडासहित विराटनगर महानगरपालिका–१६ दरैयाबाट प्रहरीले मंगलबार ३८ वर्षीय सुधीरकुमार महतोलाई पक्राउ गरेको थियो । कपडा लोड गरिएको को २ ह ७८७ र को २ ह ४९२४ नम्बरको अटो टेम्पोसहित पक्राउ गरेर प्रहरीले कारबाहीका लागि विराटनगर भन्सार कार्यालय बुझाएको छ । जोगवनीदेखि भन्सार छली गरेर अवैध रुपमा नेपालतिर ल्याइएको एक सय ६० किलो चिनी प्रहरीले विराटनगर–१७ मटेरुवाबाट मंगलबार नै बरामद गर्यो ।

मटेरुवाबाटै जेठ १ गते भारतबाट ल्याइएको चिनी, काजु र जिरा गरेर दुई लाख २७ हजार रुपैयाँ बराबरको तस्करीको सामान बरामद गरेको थियो । सोही दिन विराटनगरको दरैयाबाटै प्रहरीले नेपालदेखि भारततिर लैजान ठिक्क पारिएको चना, मटर र मरिच बरामद गरेको थियो । सामान बरामद भएका र तस्करीमा संलग्न पक्राउ परेका घटनाले पनि अवैध धन्दा सीमा क्षेत्रमा मौलाएर गएको पुष्टि हुन्छ । भारतबाट नेपालतिर कपडा, दाल, चिनी, काजु, जिरा लगायत दैनिक उपभोग्य सामाग्री र नेपालबाट भारततिर चना, मटर तथा मरिच लगायत तस्करी हुँदै आएको छ ।

पछिल्लो समय भारतमा विश्वका अन्य मुलुकमा भन्दा दैनिक थपिने र मृत्यु हुने कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या उच्च छ । यस्तो अवस्थामा अवैध धन्दा चलाउने गिरोह सक्रिय भएको पाइएपछि सुरक्षाकर्मीले थप कडाई गर्न थालेका छन् । नेपाल–भारत आवतजावतलाई शून्यमा झार्न नसकिएकै कारण भारतबाट सल्किएको कोरोनाले नेपालमा अवस्था गम्भीर बनाएको विज्ञहरुको भनाइ छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सुरक्षाकर्मीको उपस्थिति बढाएर दुई देशीबीचको आवतजावत शून्यमा झार्न सीमा क्षेत्रलाई उच्च सुरक्षा निगरानीमा राखिएको बताए ।

भारतबाट नेपाल र नेपालबाट भारततिर आवतजावत गर्नेलाई तत्काल पक्राउ गरेर कारबाही गर्ने गरिएको उनको भनाइ छ । आवतजावत र तस्करी नियन्त्रण गर्न सीमामा सशस्त्र प्रहरीसँग समन्वय गरेर विशेष अभियान नै चलाइएको खड्काको भनाइ छ । अवैध गतिविधी मौलाएको आशंकामा थप कडाई गर्दै त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने थालिएको जानकारी खड्काले दिए  ।