विराटनगर-  कोसी लोकमार्गअन्तर्गत मोरङको बूढीगङ्गा गाउँपालिकामा गय राति भएको दुर्घटनामा परेर एक पुरुषको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट बूढीगङ्गा–३ का ५० वर्षीय बालकुमार बस्नेतको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलले साँझ ७ः४५ बजेतिर बस्नेतलाई ठक्कर दिँदा दुर्घटना भएको हो । ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा राति ९ बजेतिर मृत्यु भएको श्रेष्ठले बताए।

दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय समराज्य चौधरी पनि घाइते भएका छन् । घाइतेको विराटमै उपचार भइरहेको छ । मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी एसपी श्रेष्ठले दिए ।