विराटनगर - कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्नका लागि चिकित्सकहरुले कम्तिमा दुई साता कफ्र्यू लगाउनसरकारसँग माग गरेका छन् ।नेपाल चिकित्सक संघ कोसीले आइतबार विज्ञप्तिमार्फत संक्रमणको फैलावट व्यापक भएको, गम्भीर प्रकारका लक्षण देखिएको, भिडभाड नियन्त्रण नभएको, स्वास्थ्य मापदण्ड पालना नभएको भन्दै कोभिड १९ संक्रमणको चेन ब्रेक गर्न पूर्णरुपमा निषेधाज्ञा (कफ्र्यू) लगाउनु पर्ने बताएको हो ।
संघका अध्यक्ष डा.फरवार्ड सिलवाल र महासचिव डा.राजेन्द्र चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्पूर्ण राजनीतिक दलहरु, निजी क्षेत्र र सहयोगी निकायहरु सबैलाई कोरोना महामारी नियन्त्रण र जनताको जीवन रक्षाको बिषयलाई मुख्य प्राथमिकतामा राख्न समेत आग्रह गरिएको छ ।बढ्दो संक्रमणका वावजुद चिकित्सकहरु कोरोना महामारीको युद्धमा स्वास्थ्य सैनिकका रुपमा निरन्तर होमिएको भन्दै आगामी दिनमा समेत दृढतापुर्वक खटिने चिकित्सक संघले जनाएको छ । कोरोनाविरुद्धको लडाँईमा सवैको संकल्प, सत्प्रयास र साथ मिलिरहेको खण्डमा चिकित्सकको हौसला बृद्धि हुने उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दैनिक रुपमा सार्वजनिक गर्ने तथ्यांकले कोरोनाको संक्रमण र मृत्युदर द्रुत गतिमा बढेकोले आइसीयु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या समेत बढ्दै जाने परिस्थिति सिर्जना भएको चिकित्सक संघले जनाएको छ ।
संक्रमितहरुको उपचारका लागि मुलुकभरका सम्पुर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी दिनरात, भोक निन्द्रा नभनि नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध भएपनि सरकार भने राजनीतिक जोड घटाउमा लागेको भन्दै संघले सरकारसँग गुनासो समेत गरेको छ ।साथै यस्तो परिस्थितिमा धैर्यता र संयमता अपनाउँदै स्वास्थका मापदण्डलाई कडाईका साथ पालना गर्न र आ–आफ्नो स्थानमा सुरक्षित रहन समेत आग्रह गरेको छ ।

