विराटनगर -  विराटनगर महानगरपालिकाले कोरोना संक्रतिहरुलाई सुरक्षित रुपमा राख्नका लागि विराटनगर १ स्थित भट्टाचोकमा बनाएको नयाँ आइसोलेसन सेन्टर आईतबारबाट संचालनमा आएको  छ ।५१ बेडको अत्याधुनिक आइसोलेशन वार्डमा मानिसहरुको जीवन रक्षा गर्ने उदेश्यका साथ स्वास्थ्यकर्मी सहित अक्सिजनको व्यवस्था गरिएको छ ।

अस्पतालहरुमा बेड अभाव भइरहेको र संक्रमितहरुलाई आवश्यक पर्ने अक्सिजनसमेत समयमा नपाउने अवस्था देखिएकोले सुरक्षितरुपमा घरमा बस्न सहज नभएका बिरामीलाई राख्न आइसोलेसन तयार गरेको बताईएको छ । आरआरएनको सभाहल रहेको भवनमा आइसोलेसन स्थापना गरिएको र त्यहाँ संक्रमितहरुलाई तत्काल आवश्यक पर्दा अक्सिजनको प्रवद्यन्ध मिलाइएको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

नयाँ आइसोलेसन भवन आईतबार बाट सञ्चालनमा आएको महानगरपालिकाले जानकारी दिएको छ । मानिसको जीवन रक्षा गर्ने उद्देश्यले हरसम्भव प्रयासमा महानगर जुटिरहेको पराजुलीले बताए ।आइसोलेसनमा रहने बिरामीका लागि चिकित्सकीय सेवा र मनोपरामर्शसमेत उपलब्ध हुने प्रमुख पराजुलीले बताए। महानगरले कोभिड उपचारमा यस अघि सहयोग लिँदै आएका चिकित्सकहरु मार्फत बिरामीहरुको रेखदेख र उपचारमा सहयोग गर्ने जनाएको छ ।

महानगरपालिकाले संकटको बेला आरआरएनका निर्देशक अर्जुन कार्कीले सभाहल उपलब्ध गराएर ठुलो सहयोग गरेको भन्दै आभार समेत व्यक्त गरेको छ ।आइसोलेशन निर्माणले पूर्णता पाएसँगै शनिबार नै प्रमुख पराजुली सहित ,मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला,विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत,वडा नं. १ का वडाध्यक्ष उद्दव अर्याल ,स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की,सामुदायिक शाखा प्रमुख पुनम दाहाल लगायतले अनुगमन गरेका थिए ।