विराटनगर - मोरङका तीनवटा अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित नौ जनाको पछिल्लो १२ घण्टाभित्र मृत्यु भएको छ । दुई जनाको हिजोसाँझ र सात जनाको आज बिहान ज्यान गएको हो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा चार, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन र मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन जना वृद्ध पुरुष र एक जना महिला छन् ।
नोबेल शिक्षण अस्पतालमा सुनसरीको धरान उपमहानगरपालिका–१ का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई गत वैशाख २२ उपचारका लागि ल्याइएको थियो । दाहालले उपचारकै क्रममा आज बिहानका राति २ बजेतिर सङ्क्रमित पुरुषको मृत्यु भएको जानकारी दिए । नोबेलमै बिहान ६ः३० बजेतिर विराटनगर महानगरपालिका–१६ की ७४ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा वैशाख २७ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भए पनि होम आइसोलेसनमै रहेकी उनलाई श्वास फेर्न गाह्रो भएर स्वास्थ्यमा समस्या थपिएपछि बिहान अस्पताल लगिएको हो ।
उपचारका लागि ल्याएको केही बेरमै चिकित्सकले मृत घोषित गरेको जानकारी दाहालले दिए । धनकुटा जोरपाटीका ५६ वर्षीय पुरुषको पनि बिहान ५ बजेतिर मृत्यु भएको छ । उपचारकै क्रममा मृत्यु भएका उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको दाहालले बताए । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख २८ गते भर्ना गरिएको अस्पतालले जनाएको छ । महोत्तरी घर भएका ७७ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै उपचारका क्रममा बिहान ५ः३० बजेतिर मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा यसअघि नै कोरोना पुष्टि भएका उनलाई उपचारका लागि बिहान १ बजेतिर मात्रै अस्पताल भर्ना गरिएको थियो ।
उपचार थालिएको साढे चार घण्टा पनि बित्न नपाउँदै संक्रमित वृद्धको मृत्यु भएको प्रबन्धक दाहालको भनाइ छ । विराटनगर महानगरपालिका–११ मा बस्दै आएका ३८ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहान १२ः३० बजेतिर मृत्यु भएको छ । मृतक महिला अधिकारका क्षेत्रमा कार्यरत ओरेक नेपाल विराटनगरका परियोजना संयोजक दीपक सेन्च्युरी भनिने लालबहादुर विश्वकर्मा हुन् । पीसीआर परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो ।
विश्वकर्माको उपचारकै क्रममा भेन्टिलेटरमा मृत्यु भएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए । उनका अनुसार विराटनगर–६ का ५६ वर्षीय पुरुषको पनि उपचारकै क्रममा बिहान १ बजेतिर मृत्यु भएको छ । कोरोना सङ्क्रमित पुरुषलाई उपचारका लागि वैशाख २४ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । कोसी कोभिडमै सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७९ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ ।
राजवंशीका अनुसार उपचारका लागि सङ्क्रमित वृद्धलाई हिजो मात्रै भर्ना गरिएको थियो । उपचारका क्रममा बिहान १ः३० बजेतिर मृत्यु भएको जानकारी उनले दिए । त्यस्तै मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार विराटनगर–९ का ४९ वर्षीय पुरुषको बिहीबारसाँझ ७ः४० बजेतिर मृत्यु भएको हो ।
उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको देवले बताए । विराटनगर–६ का ६४ वर्षीय वृद्ध पुरुषको राति ८ बजेतिर विराटमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वैशाख २० मा अस्पताल भर्ना गरिएका उनको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जानकारी देवले दिए ।

