विराटनगर - मोरङमा कोरोना भाइरस संक्रमित छ जनाको आज बिहान मृत्यु भएको छ । उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएका संक्रमितको मृत्यु भएको हो । ज्यान गुमाउनेमा एक जना १८ वर्षे युवती पनि छन् । उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा विराटनगरका दुई जना तथा ललितपुर, सप्तरी, सुुनसरी र मोरङको उर्लाबारीका एक÷एक जना छन् । मोरङको उर्लाबारी नगरपालिका–२ का ४६ वर्षीय पुरुषको बिहानका राति १ बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २८ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। उनका अनुसार सुनसरीको इनरुवा नगरपालिकाकी १८ वर्षीया युवतीको बिहान ४ः४० बजेतिर नोबेलमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि २८ गते नै भर्ना गरिएको जानकारी दाहालले दिए। सप्तरीको कन्चनपुर–८ का ७० वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै मृत्यु भएको छ ।
कोरोना पुष्टि भएपछि गत वैशाख १२ गते उपचारका लागि भर्ना गरिएका वृद्धको बिहान ५ बजेतिर ज्यान गएको दाहालले बताए । विराटनगर महानगरपालिका–४ का ६० वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा संक्रमित वृद्ध पुरुषको बिहानका राति १ बजेतिर मृत्यु भएको राजवंशीको भनाइ छ ।
उनका अनुसार ललितपुर महानगरपालिका घर भएका ५८ वर्षीय पुरुषको पनि कोसीमै मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर परीक्षण गराउँदा उनलाई संक्रमण पुष्टि भएको थियो । उपचारका लागि त्यही दिन अस्पताल भर्ना गरिएका पुरुषको बिहान ४ः३० बजेतिर मृत्यु भएको जानकारी राजवंशीले दिए । विराटनगर–१ का ३० वर्षीय युवाको बिहानका राति १२ः३० बजेतिर मृत्यु भएको छ । उनको विराट शिक्षण अस्पतालमा ज्यान गएको हो । विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार कोरोना पुष्टि भएका युवालाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा युवाको मृत्यु भएको उनको भनाइ छ ।

