विराटनगर-  विराटनगरको रानीमा एक हजार क्षमताको ‘होल्डिङ सेन्टर’ बनाउने प्रक्रिया अघि बढाइएको छ । विराटनगर जुट मिल्सको खाली तथा अतिक्रमित जग्गालाई सदुपयोग गर्दै ‘होल्डिङ सेन्टर’ बनाउन लागिएको हो । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको विराटनगर महानगरपालिकाभित्र ‘होल्डिङ सेन्टर’ बनाउन नसकेको भनेर प्रदेश १ सरकारको आलोचना भइरहेको थियो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला सुरक्षा समिति मोरङको बैठकबाट ‘होल्डिङ सेन्टर’ बनाउने निर्णय भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जुट मिल्सको खाली तथा अतिक्रमित तीन बिघा जग्गामा सेन्टर बनाउन सिफारिस गरिसकिएको छ । माथिबाट अनुमति प्राप्त भएपछि बनाउने काम तत्काल सुरु गर्ने योजना रहेको उनको भनाइ छ । ‘छिमेकी मुलुक भारतबाट आउनेहरुलाई ‘होल्ड’ गरेर राख्नका लागि ‘सेन्टर’को आवश्यकता थियो,’ प्रजिअ निरौलाले भने, ‘आफन्त, परिवारका सदस्य तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उनीहरुलाई पछि जिम्मा लगाइने गरी त्यहाँ राखिने छ ।’ भारतबाट आउनेहरुको सुरुमा रानी नाकाको हेल्थ डेक्समा एन्टिजेन परीक्षण गरिने छ ।

रिपोर्ट पोजिटिभ आएमा उपचारका लागि लगिने र नेगेटिभ आएमा ‘सेन्टर’मा राख्दै जिम्मा लिन आउन परिवारका सदस्य तथा सम्बन्धित स्थानीय तहलाई खवर गरिने निरौलाको भनाइ छ । केही दिनदेखि रानी नाका हुँदै भारतबाट दैनिक २० जनाभन्दा बढी नेपाल प्रवेश गरिरहेका छन् । यसअघि दैनिक दुई सयभन्दा बढी आउने गरेका थिए । भारतबाट आएकालाई ‘सेन्टर’मा खानपिनसहित कम्तीमा १२ दिनसम्म राख्ने व्यवस्था मिलाइने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

भारतबाट आएका तर बाहिरका जिल्ला घर भएकाहरु अलपत्र नपरुन् भनेर ‘होल्डिङ सेन्टर’ बनाउन लागिएको उनको भनाइ छ । ‘होल्डिङ सेन्टर’ बनाउँदा बाहिरी जिल्लाका नागरिकलाई सहज हुने र संक्रमण फैलने जोखिम पनि कम हुने एसपी खड्काले बताए । प्रदेश १ सरकारको सहयोगमा अहिले विराटनगरमा ७५ जना क्षमताको मात्रै ‘होल्डिङ सेन्टर’ सञ्चालनमा छ । यसको सुरक्षामा नेपाली सेना खटाइएको छ । यसअघि ‘होल्डिङ सेन्टर’ नहुँदा भारतबाट आएकाहरु सिधै गाउँघर पुग्ने गरेका थिए । भारतबाट आएकाहरु कै कारण कोरोना संक्रमण तीव्र रुपमा फैलिएको पाइएपछि एक हजार क्षमताको ‘होल्डिङ सेन्टर’ बनाउन लागिएको हो ।