विराटनगर- कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शवलाई सुरक्षितसाथ व्यवस्थापन गर्नका लागि परिचालन गरिँदै आएको नेपाली सेनाको ‘बडी व्यवस्थापन’ टोलीलाई विराटनगरमा ल्याएर राखिएको छ । यसअघि टोलीलाई गाडीबाट लगभग ४० मिनेटको दूरीमा रहेको मोरङको कटहरी गाउँपालिका–४ स्थित थलाहामा राखिँदै आएको थियो । विराटनगरका अस्पतालमा र होम आइसोलेसनमा पनि विराटनगरमै कोरोना संक्रमितको मृत्यु धेरै भइरहेको छ ।

सेनाले दैनिक १० वटासम्म शवको व्यवस्थापन गरिरहेको छ । संक्रमितको मृत्यु भएको जानकारी पाएपछि तयार भएर आउन नै समय लाग्ने र बेलैमा शवको व्यवस्थापन गर्न गाह्रो भएर अवस्था जटिल बन्न थालेपछि टोलीलाई विराटनगर ल्याएर राखिएको मोरङको थलाहास्थित नेपाली सेनाको भैरव गणका गणपति एवं प्रमुख सेनानी गणेश रावलले जानकारी दिए । उनका अनुसार संक्रमितको शव व्यवस्थापनमा चार÷चार जनाको दुईवटा टोली खटिँदै आएको छ ।

टोलीलाई छुट्टै आइसोलेसनसहित विराटनगरमा रहेको नेपाल रेडक्रस सोसाइटीको भवनमा राखिएको जानकारी रावलले दिए । यो टोली दुई साताका लागि मात्रै विराटनगर बस्ने छ । त्यसपछि अर्को टोलीले पालो दिएसँगै क्वारेन्टाइनमा बस्न जान्छ । संक्रमितको शव व्यवस्थापन गर्ने टोली प्रत्येक १५÷१५ दिनमा परिवर्तन गरिने प्रमुख सेनानी रावलको भनाइ छ । शव व्यवस्थापन चाँडै गर्न सकियोस् भनेर टोलीलाई विराटनगरमै ल्याएर अलग्गै राखिएको उनले बताए ।

टोली विराटनगरै आएर बसेपछि संक्रमितको शव व्यवस्थापनमा भएरहेको असहज परिस्थितिको अन्त्य र समयको बचत तथा व्यवस्थापन समयमै हुने अपेक्षा गरिएको छ । मृत्यु भएका संक्रमितको शव व्यवस्थापनमा सेनाले प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ । रेडक्रसको भवनमा सेनाको टोलीमात्रै राखिने र अरु बाहिरका कोहीसँग पनि सम्पर्क नहुने जानकारी रावलले दिए। उहाँले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाली सेनाले नेपाल–भारत सीमा क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि गरिरहेको बताए ।