विराटनगर- कोरोना महामारीको बेला सेनिटाइजरमा कालो बजारी गरी महंगो मूल्यमा बिक्री गर्ने मोरङको विज्ञान फार्मेसी सहित तीन वटा फार्मेसी कारवाहीमा परेका छन् ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आइतबार बजार अनुगमन गर्ने क्रममा उपभोक्तालाई बढी मूल्य लिएर सेनिटाइजर बिक्री गरी ठगी गर्ने तीन वटा फार्मेसी कारवाहीमा परेकाछन ।
कोरोना संक्रमण बढेसँगै सेनिटाईजरमा कालोबजारी गर्ने मोरङ बुढीगंगा २ को विज्ञान फार्मेसीलाई २ लाख जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आइतबार बजार अनुगमन गर्ने क्रममा उपभोक्तालाई बढी मूल्य लिएर सेनिटाइजर बिक्री गरी ठगी गर्ने विज्ञान फार्मेसी सहित तीन वटालाई कारवाही गरेकोे हो ।
विज्ञान फार्मेसीले ८० रुपैयाँमा खरिद गरेको १२० एमएलको रब क्लिन ब्राण्डको सेनिटाइजर उपभोक्तालाई १६५ रुपैयामा बिक्री गरेको पाईएको बाणिज्य कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए । बाणिज्य कार्यालयले विराटनगर २ मा सञ्चालित सो फार्मेसीलाई ५ हजार र बिनुका फार्मेसीलाई २० हजार जरिवाना गराएको पोखरेलले बताए ।फार्मेसीले मास्क, सेनिटाइजर लगायतका वस्तु खरिद गरेको बिल बिजक दुरुस्त नराखेको भन्दै कार्यालयले जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख पोखरेलको भनाई छ।
बाणिज्य कार्यालयको नेतृत्वमा आईतबार स्वास्थ्य सामाग्री विक्री वितरण गर्ने फार्मेसीहरुमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय का प्रतिनिधि सम्मिलित टोलीले अनुगमन गरेका हुन । बजार अनुगमनलाई तीव्र पारिने कार्यालय प्रमुख पोखरेलले बताए ।

