विराटनगर-  मोरङका दुईवटा अलगअलग अस्पतालमा कोरोना भाइरस संक्रमित चार जनाको आज बिहान मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पताल र मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई वृद्ध पुरुष र दुई महिलाको मृत्यु भएको हो ।

उपचारका लागि भर्ना भएकामध्ये नोबेलमा तीन र विराटमा एक जनाले ज्यान गुमाएका हुन् । नोबेलमा सुनसरीको धरान–१७ का ६६ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचाररत अवस्थामै संक्रमित पुरुषको बिहान २ः३० बजेतिर मृत्यु भएको हो । त्यस्तै विराटनगर महानगरपालिका–१ का ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । नोबेलका प्रबन्धक दाहालका अनुसार बिहान ३ः३० बजेतिर वृद्ध पुरुषको मृत्यु भयो । सिरहाको कल्याणपुर –४ की ३८ वर्षीया महिलाको पनि मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वैशाख २५ गते उपचारका लागि उनलाई नोबेलमा भर्ना गरिएको थियो । उनको मृत्यु आज बिहान ७ बजेतिर भएको दाहालले बताए ।

यसैबीच विराटमा उपचाररत सुनसरीको इटहरी–८ की ५४ वर्षीया महिलाको पनि बिहान १ः२० बजेतिर मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार कोरोना पुष्टि भएपछि उपचारका लागि महिलालाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो । मृतकमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको पाइएको उनले बताए ।