विराटनगर-  कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरि स्थानीय प्रशासनले वैशाख २४ गते राती देखि जेठ १ गतेसम्म जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय  गरेको छ ।  डिसीसीएमसीको विहिबार बसेको बैठकले जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी  कोशहरि निरौलाले बताए।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम बैशाख २४ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ १ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । डिसीसीएमसीका बैठकले अस्पताल तथा आईसोलेसन सेन्टरमा डाक्टर, नर्स र अहेब सहितको टीम तथा एन्टिजेन र अक्सिजनसहितको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

कोभिड–१९ महामारीको रोकथाम तथा न्युनीकरणका लागी व्यापक रुपमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, स्वयंमसेवक परिचालन गर्ने र आ–आफ्नो क्षेत्रभित्र आवश्यकता अनुरुप निसंक्रमणका लागी निर्मलीकरणको व्यवस्था मिलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । यसअघि बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि मोरङका विराटनगर, बुढीगंगा, जहदा र कटहरीका १ देखि ४ नम्वर वडा सम्म ७ दिने निषेधाज्ञा जारी गरिएको थियो ।