विराटनगर - प्रदेश १ सरकारले कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड–१९ का कारणबाट मृत्यु भएमा २५ लाख क्षतिपुर्ती दिने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट एकमुष्ट २५ लाख प्रदान गर्ने निर्णय भएको बैठक पछि सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिईन । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी तथा कर्मचारीहरू कोभिड–१९ बाट संक्रमित भइ बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने समेत निर्णय भएको उनले बताएन । कोभिड–१९ बाट संक्रमित भइ होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभइ घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च समेत प्रदेश सरकारले व्यहोर्ने उनको भनाई छ ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्र, विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरू तलव स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सामाजिक विकास मन्त्री राईले बताईन ।
कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि होम क्वारेन्टिनमा बस्न सक्ने अवस्था नभई होटल क्वारेन्टिन बस्नु पर्ने भएमा तोकिए बमोजिमको होटल क्वारेन्टिन तथा चालक, सफाइकर्मी, कार्यालय सहयोगीका साथै व्यवस्थापनमा खटिने अन्य कर्मचारीहरूका लागि प्रदेश सरकारले प्रबन्ध गरेको खाना तथा खाजा सहितको क्वारेन्टिन वा होटल क्वारेन्टिनको प्रबन्ध गर्र्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

