विराटनगर-  उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएका एक वृद्धसहित कोरोना भाइरस सङ्क्रमित दुई पुरुषको आज बिहान मृत्यु भएको छ । सुन्दरहरैँचाका ५४ र विराटनगरका ६७ वर्षीय पुरुषको ज्यान गएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको बिहान ८ः१५ बजेतिर मृत्यु भयो ।

गय राति १२ बजेतिर अस्पताल भर्ना गरिएका बिरामीको आठ घण्टामै मृत्यु भएको हो । मृतकको घाँटीमा क्यान्सरको पुरानै समस्या रहेको जानकारी दाहालले दिए । त्यस्तै विराटनगर महानगरपालिका–१२ घर भएका ६७ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । कोरोना सङ्क्रमण देखिएका वृद्धलाई उपचारका लागि वैशाख १७ गते अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याउनसाथ आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको भए पनि सङ्क्रमित वृद्ध पुरुषको बिहान ५ बजेतिर मृत्यु भएको दाहालले बताए । मृतकमा स्वास्थ्य सम्बन्धी पुरानो समस्या केही पनि नभएको दाहालले बताए । दुवै मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी उनले दिए ।