विराटनगर-  विराटनगरमा चारसहित मोरङमा कोरोना भाइरस सङ्क्रमित पाँच जनाको आज बिहान मृत्यु भएको छ । चार जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । एक जनाको होम आइसोलेसनमा बेलबारीमा ज्यान गएको छ । सबै जनाको मृत्यु चार घण्टाभित्रमा भएको बताइएको छ ।

मृत्यु हुनेमध्ये दुई जना महिला र तीन जना पुरुष रहेका छन् । एक जना प्रदेश २ को सप्तरीका बासिन्दा हुन् । मृत्यु हुने चार जनामा मोरङको बेलबारी, विराटनगर, सुनसरीको धरान र इलामका रहेका छन् । बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । पूर्वप्रहरी सहायक निरीक्षक (असइ) रहेका उनको बिहान ४ बजेतिर मृत्यु भएको हो । नोबेल अस्पतालमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमा लगेर राखिएको थियो । श्वासप्रश्वासमा समस्या आएर अवस्था गम्भीर बन्दै गए पनि उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई हिजो नोबेल अस्पताल भर्ना गरिएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अवस्था गम्भीर रहेका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो । इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु  भएको छ । परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको दाहालले बताए। उनका अनुसार महिलाको उपचारकै क्रममा बिहान ४ः१५ बजेतिर मृत्यु भएको हो ।

मृतकमा निमोनियाको पुरानै समस्या रहेको जानकारी दाहालले दिएु  । सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित उनलाई हिजो अस्पताल भर्ना गरिएको थियो । प्रबन्धक दाहालले उपचार जारी रहेकै बेला बिहान ५ बजेतिर सङ्क्रमित वृद्धाको मृत्यु भएको बताए । उनका अनुसार मृतकमा दमको पुरानो समस्या थियो ।

त्यस्तै प्रदेश २ को सप्तरी हनुमाननगर–कङ्कालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । उनको नोबेलमै उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भना गरिएको दाहालले बताए । दाहाले मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए ।