विराटनगर- रोहिंग्या शरणार्थी सीमावर्ती नाका हुँदै भारतबाट लुकिपिछी अवैध रुपमा पूर्वी नेपालको झापा र मोरङमा छिरेर बसोबास गर्न थालेको विषय बाहिर आएको छ । म्यानमारबाट विस्थापित भएर बंगलादेशमा शरण लिँदै बसिरहेका उनीहरु सहज जीवनको खोजीमा नेपाल छिरेको सूचना सरकारले पनि प्राप्त गरेको छ ।
तर उनीहरुलाई नियन्त्रणमा लिन, सीमामै रोक्न र उतै फर्काउन तथा नेपाल प्रवेश गर्न नदिनका लागि कुनै विशेष योजना नेपाल सरकारसँग छैन । गृह मन्त्रालय स्रोतका अनुसार रोहिंग्या मुस्लिमहरु झापाको काँकडभिट्टा र मोरङको सीमावर्ती नाका हुँदै नेपाल छिरेको सूचना छ । गृह मन्त्रालयले रोहिंग्या शरणार्थी नेपाल छिरेको विषयमा सत्यतथ्य बुझेर कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले वैशाख ६ गते निर्देशन दिएर पठाएको पत्रमा सम्बन्धित निकायसँग समन्वय गरेर कारबाही थाल्न भनिएको छ । केही दिनअघि काँकडभिट्टा नाका हुँदै १०/१२ जना रोहिंग्या आप्रवासी भारतबाट नेपाल प्रवेश गर्दै झापाको कमल गाउँपालिकास्थित मुस्लिम बस्ती रहेको टागनडुब्बामा आश्रय लिएर बसिरहेको सूचना गृह मन्त्रालयमा पुगेको छ । त्यस्तै मोरङको सीमावर्ती नाकाबाट तीन÷तीन जनाको दुई रोहिंग्या परिवार विराटनगर छिरेको पाइएको गृहका एक अधिकारीले बताए । उनका अनुसार अहिले पूर्वी नेपालमा छिरेका रोहिंग्याको खोजी र पहिचान गर्न सुक्ष्म ढंगको अनुसन्धान भइरहेको छ । काठमाडौंमा रहेको रोहिंग्या आप्रवासी क्याम्पका मौलाना जुबेर र लसुनटारस्थित आप्रवासी क्याम्पका रफिक आलम पछिल्लो समय रोहिंग्यालाई नेपाल प्रवेश गराउने धन्दामा सक्रिय रहेको पुष्टि गृह मन्त्रालयले गरेको छ । यस विषयमा जतिसक्दो चाँडो यथार्थ बुझ्न गृहले जिल्ला प्रशासन कार्यालय काठमाडौंसहित झापा र मोरङलाई संयुक्त पत्र पठाएको हो ।
प्रतिव्यक्ति ४० हजार रुपैयाँसम्म लिएर रोहिंग्या मुस्लिमलाई नेपाल ल्याउने गराउने गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बंगलादेश र भारतभन्दा तुलनात्मक रुपमा नेपालमा जीवन सहज रहेको र शरणार्थीको पक्षमा काम गरिरहेको संयुक्त शरणार्थी उच्च आयुक्त कार्यालय (यूएनएचसीआर)ले आर्थिक सहयोग उपलब्ध गराउनेजस्ता प्रलोभन देखाएर पैसा असुल्दै रोहिंग्यालाई अवैध तवरबाट नेपाल छिराउने गरिएको हो ।
गृह स्रोतका अनुसार भारत र बंगलादेशमा शरणार्थीको जीवन निक्कै असहज छ । अरु मुलुकभन्दा शरणार्थी जीवन सहज रहेको यकिन भएकाले रोहिंग्याको रोजाइमा पनि नेपाल पर्ने गरेको स्रोतको भनाइ छ । रोहिंग्यालाई प्रवेश गर्न नदिन सीमा नाकामा निगरानी बढाएर कडाई गर्न थालिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । झुक्याएर र लुकिछिपी नेपाल छिरेकाहरुलाई भने नियन्त्रणमा लिएर अध्यागमन ऐन अनुसार कारबाही अघि बढाउन अध्यागमन विभागमा पठाइने प्रजिअ तिमल्सिनाको भनाइ छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले शरणार्थीका रुपमा रोहिंग्या छिर्दा भविष्यमा धेरै समस्या आउनेतर्फ ध्यान दिँदै सीमा क्षेत्रमा निगरानी बढाइएको बताए ।
कोरोना महामारी नियन्त्रणमा केन्द्रित हुनु परेको मौका छोपेर रोहिंग्यालाई विभिन्न गिरोहले नेपाल प्रवेश गराउनसक्नेतर्फ सचेत रहेर भारतबाट नेपाल छिर्ने सबै नाकामा उच्च निगरानी बढाइएको उनको भनाइ छ । केही वर्षअघि म्यानमारबाट विस्थापित भएर बंगलादेशमा बसोबास गरिरहेका लाखौँ रोहिंग्यालाई फर्काउने प्रयास सफल भइरहेको छैन । यस विषयमा पटक–पटक म्यानमार र बंगलादेशबीच छलफल भएर निस्कर्षमा नपुग्दा रोहिंग्या सम्बन्धी समस्या निक्कै तड्कारो रुपमा उठ्न थालेको छ ।

