विराटनगर-   झापा र मोरङ घर भएका कोरोना भाइरस संक्रमित दुई पुरुषको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा आज बिहान ४५ र ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको जानकारी अस्पतालका प्रबन्धक नारायण दाहालले दिए । उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएका पुरुषमा निमोनियाको पुरानै समस्या रहेको उनको भनाइ छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई वैशाख १३ गते सोमबार अस्पताल भर्ना गरिएको थियो । सङ्क्रमित पुरुषको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको दाहालले बताए ।  मृतकमा मधुमेहको पुरानै समस्या रहेको उनको भनाइ छ । मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दाहालले दिए ।