विराटनगर- मोरङको पथरीशनिश्चरे नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा परेर चालकको ज्यान गएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार दक्षिणबाट उत्तरतर्फ जादै गरेको मे १ त ४१६२ नम्बरको ट्याक्टर पथरीशनिश्चरे-४ र ७ को सीमानामा पर्ने भित्री सडक खण्डमा हिजो साँझ ६ः३० बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक कानेपोखरी गाउँपालिका-५ का २१ वर्षीय टेकबहादुर अधिकारीको मृत्यु भएको खड्काले बताए । तीव्र गतिका कारण आफै अनियन्त्रित भएर ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ बजेतिर ज्यान गएको हो ।
एसपी खड्काका अनुसार चालकको साथमा ट्याक्टरको कागजपत्र र सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि थिएन । तीव्र गतिमा चलाइएको ट्याक्टर नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको छ ।

