विराटनगर-  पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षा अगाडि नै ‘आउट’ भएको विषयको अनुसन्धानमा मोरङ प्रहरीले सफलता प्राप्त गरेको छ । इन्जिनियरिङ संकायको स्नातक (बीई) दोस्रो सेमिस्टरको भौतिकशास्त्र विषयको परीक्षाको प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि नै बाहिर आएको प्रकरणमा संलग्न कर्मचारीसहित १० जना पक्राउ परेका छन् ।

यसको अनुसन्धान मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का आफैले अघि बढाएका थिए ।  घटनामा संलग्न विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहायक विराटनगर महानगरपालिका-८ का ४४ वर्षीय कोमलप्रसाद गौतम, संखुवासभाको मादी नगरपालिका-६ घर भएका ३५ वर्षीय गोपाल कार्की, रुपन्देही तिलोचन नगरपालिका-१२ का ३० वर्षीय विजय पोखरेल, गोर्खाको भीमसेनथापा गाउँपालिका-१ का ३२ वर्षीय मीनप्रसाद भट्ट र गोर्खाकै गण्डगी गाउँपालिका-३ का ३२ वर्षीय भरत पन्त पक्राउ परेका छन् ।

त्यस्तै गोर्खा नगरपालिका-४ का २६ वर्षीय विकाश खड्का, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-४ का २८ वर्षीय निर्मल खड्का, महोत्तरीको रामगोपालपुर नगरपालिका-९ का २९ वर्षीय नानीपथ मण्डल, सप्तरीको वोदेवरसाइन नगरपालिका-७ का २९ वर्षीय जीवनकुमार यादव र सप्तरीकै कृष्णसवरण गाउँपालिका-५ घर भइ भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

एसपी खड्काका अनुसार विश्वविद्यालयका कर्मचारी गौतमसँग व्यक्तिगत सम्पर्कमा आधारमा ‘सेटिङ’ मिलाउँदै प्रश्नपत्र परीक्षा अगाडि नै बाहिर ल्याउन कार्की सफल भएको पाइएको छ । विचौलियाको भूमिकामा रहेका कार्की काठमाडौंको मीनभवनस्थित क्याफोकेट कलेजको एमएसी दोस्रो वर्षमा अध्ययनरत रहेको खुलेको छ । विश्वविद्यालयका कर्मचारी गौतम र महेश यादवलाई विराटनगरबाटै पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जिल मुकारुङले बताए ।

पक्राउ परेका सबै जनालाई प्रहरीले आईतबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गर्‍यो । उनीहरुविरुद्ध प्रहरीले शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम मुद्दा चलाउन आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।