विराटनगर - कोरोना भाइरस सङ्क्रमित एक पुरुषको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा गयराति मृत्यु भएको छ । ४० वर्षीय पुरुषको उपचारका क्रममा राति १०ः१५ बजेतिर ज्यान गएको हो । विराटनगर महानगरपालिका-२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि हिजो नै उपचारका लागि नोबेल अस्पतालले सङ्क्रमितको उपचारका लागि सञ्चालन गरेको आइसोलेसनमा भर्ना गरिएको थियो ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार छात्ती दुख्ने र ज्वरो आउने समस्या रहेको अवस्था गम्भीर थियो । तत्काल उपचार थालिए पनि बचाउन भने नसकिएको दाहालले बताए । उनले शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए । नोबेल अस्पतालले यसअघि कोरोना सङ्क्रमण कम हुँदै गएपछि सङ्क्रमितको उपचार गराउने आइसोलेसन बन्द गरेको थियो । तर कोरोनाको दोस्रो लहर सुरु भएर अवस्था भयावह बन्न लागेपछि हिजोबाट आइसोलेसन पुनः सञ्चालनमा ल्याइएको छ ।
प्रबन्धक दाहालले यसअघि सञ्चालन गरेर बन्द गरिएको आइसोलेसन कोरोनाको दोस्रो लहर सुरु भएपछि पुनः सञ्चालन गरेर संक्रमितको उपचार गर्न थालिएको जानकारी दिए। उनकाा अनुसार पुनः आइसोलेसन सञ्चालन गरेकै पहिलो दिन छ जना संक्रमित भर्ना भएका थिए । भर्ना भएकामध्ये एक जना सङ्क्रमित पुरुषको ज्यान गएको दाहालले बताए ।
अहिले नोबेलको आइसोलेसनमा पाँच जना संक्रमितको उपचार जारी रहेको जानकारी दाहालले दिए।

