विराटनगर-  प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका पछिल्लो समय कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्दै गइरहेको छ । विराटनगर पछिल्लो समय कोरोनाका कारण निक्कै आक्रान्त बनिरहे पनि नियन्त्रणका लागि उचित उपायको अवलम्बन हुन सकिरहेको छैन । पछिल्लो केही दिनयता विराटनगरमा कोरोना तीव्र रुपमा फैलिइरहेको हो ।

प्रदेशभरी दैनिक भेटिने संक्रमितमध्ये लगभग आधा विराटनगरका हुने गरेका छन् । कोरोना महामारीको चपेटामा परेको भारतसँगको खुला सीमाका कारण विभिन्न स्थानबाट अवैध आवतजावत नरोकिँदा विराटनगरमा संक्रमण तीव्र्र रुपमा फैलिइरहेको हो । हिजो प्रदेश १ मा एक सय ३६ जना नयाँ बिरामी थपिए । नयाँ संक्रमितमध्ये झन्डै आधा अर्थात ५९ जना विराटनगरका छन् । मोरङमा ६८, झापामा २१, सुनसरीमा २०, सङ्खुवासभामा नौ, धनकुटा र इलाममा तीन/तीन, तेह्रथुम, ताप्लेजुङ र ओखलढुङ्गामा एक/एक तथा प्रदेश १ बाहिरका नौ जनामा कोरोना पुष्टि भएको हो ।

स्थानीय प्रशासनले कोरोनाबाट जोगिन उच्च सावधानी अपनाउन सबैमा आग्रह गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना फैलन नदिन सर्वसाधारण आफै सचेत हुनुपर्नेमा जोड दिए। संक्रमण फैलिएर अवस्था भयावह भएमा त्यसले ठूलो नोक्सान पुर्याउँछ भन्ने कुरा बुझ्न सबैले जरुरी रहेको उनको भनाइ छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कोरोना नियन्त्रणका लागि सीमाबाट हुने अवैध आवतजावत रोक्न सुरक्षा निकाय सक्रिय भएर लागेको बताए ।

उनले बजार, पसल तथा सार्वजनिक स्थलमा कुनै भिडभाड नगर्न र सामाजिक दूरी कायम राखेर गतिविधी गर्न सबैमा आग्रह गरेकाछन। ‘कोरोनाका कारण ठूलो सङ्कट निम्तन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ,’ खड्काले भने, ‘सावधानी अपनाउँदा त्यसबाट जोगिन सकिन्छ ।’ एसपी खड्काले स्वास्थ्य मापदण्डको पालना र सावधानी यसबाट बच्ने मुख्य उपाय रहेको बताए । मास्कको प्रयोग गर्ने, सावुनपानीले हात धुने, भिडभाड नगर्ने, सार्वजनिक समारोह तथा सभाहरु आयोजना नगर्ने गर्दा कोरोना फैलने जोखिम कम हुने एसपी खड्काको भनाइ छ ।

प्रदेश १ मा हालसम्म ३१ हजार तीन सय २२ जनामा कोरोना पुष्टि भइसकेको छ । सङ्क्रमण देखिएकामध्ये २९ हजार नौ सय ४४ जना कोरोनामुक्त बनिसकेका छन् । प्रदेशमा अहिले सक्रिय संक्रमितको सङ्ख्या आठ सय ९९ रहेको छ ।