विराटनगर - पत्रकार आचारसंहिता निर्माण भएको लामो समय भए पनि यसप्रति अपनत्व वृद्धि गर्न सरोकारवाला निकायहरूको भूमिका कमजोर रहेको पत्रकारहरूले गुनासो गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ मोरङको संयोजनमा प्रेस काउन्सिल नेपालद्वारा शुक्रबार विराटनगरमा आयोजित ‘पत्रकार आचारसंहिता र कोभिड १९ ले मिडियामा पारेको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकतर पत्रकारहरूले त्यस्तो गुनासो गरेका हुन् ।

केहीले प्रेस काउन्सिलले सरकारको बचाउमा मात्र आफ्नो उर्जा खर्च गर्छ कि पत्रकारको पक्षमा पनि सोचेर काम गर्छ भनी प्रश्न उठाएका थिए ।बोल्ने क्रममा केही पत्रकारले पत्रकार आचारसंहिताको भाषा ‘आचारसंहिता’मा हुनुपर्ने जस्तो नभएको, कसैद्वारा निर्देशितजस्तो भएको उल्लेख गर्दै आचारसंहिताप्रति पत्रकारहरूको अपनत्व बढ्न नसकेको उल्लेख गरेका थिए ।

कार्यक्रममा पूणर्कालीन पत्रकारिता पेसामा रहेकाहरूबाट आचारसंहिता उल्लङ्घन नभए पनि वैकप्लिक कामका रूपमा पत्रकारिता गर्ने र पत्रकारिताको ज्ञानबिनै यो पेसामा आएकाहरूबाट उल्लङ्घन हुने गरेको चर्चा र चिन्ता व्यक्त गरिएको थियो ।प्रेस काउन्सिलका तर्फबाट ठाकुर बेलबासे र दीपक पाण्डेले पत्रकारबाट आएका सुझावलाई काउन्सिलले आत्मसमीक्षासहित कार्यान्वयनमा लैजाने बताएका थिए