विराटनगर- प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मुलुकमा सुशासन कायम राख्नका लागि पत्रकारहरुले कलम चलाउनु पर्ने बताए । प्रदेश एवं जिल्ला निर्वाचन समिति मोरंगद्वारा आज विराटनगर आयोजित नेपाल पत्रकार महासंघ १ नं प्रदेश समिति एवं जिल्ला समितिका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा उनले राज्यसत्तालाई जिम्मेवार रुपमा सञ्चालन गरी पारदर्शीता कायम गर्न सञ्चारकर्मीहरुको ठूलो भूमिका खेल्ने पर्नेमा जोड दिए ।
सभामुख भण्डारीले मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्न यसको सञ्चार जगतको ठूलो जिम्मेवारी रहने चर्चा गर्दै जनताको हक अधिकारको रक्षाका कमललाई तिखो बनाउनु पर्ने बताए। नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता राजीव कोइरालाले अविश्वासको प्रस्ताव प्रदेशमा आवश्यक रहेकोमा जोड दिदै सरकारले ठूलो विकास निर्माणका योजनाको बजेट कटौती गरेको आरोप लगाए ।
नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले कलमको माध्यमबाट समाजमा रहेका कुरिति हटाई जनतामा चेतना गराउनका साथै राष्ट्र निर्माण कार्यमा सहयोग पुर्याउनु पर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पत्रकार भएर बाँच्न कति समस्या हुन्छ भन्ने अनुभव गरेको छु भन्दै पत्रकार उपचारका लागि स्थापना गरिने अक्षय कोषमा महानगरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।
प्रदेश सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले निर्वाचनको माध्यमवाट मुलुकमा सङ्घीयता कार्यान्वयनमा सहयोग पुगेको धारणा राखे । प्रदेश महासङ्घका निवर्तमान अध्यक्ष विक्रम लुईटेल, प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, महासचिव विवेक गौतम, मोरंगका निवर्तमान अध्यक्ष वन्धु पोखरेल, जिल्ला अध्यक्ष सन्जिव खनाल, पत्रकारहरु शङ्कर खरेल, मोहनकाजी न्यौपाने र उद्योगी नविन रिजालले आवाज विहिनको आवाज र समाज रुपान्तरण कार्यमा सञ्चारकर्मीहरु लाग्नु पर्नेमा जोड दिए।

