विराटनगर- चोरीको घटनामा अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाए पनि भागिरहेका एक अभियुक्त बिहीबार दिउँसो विराटनगरबाट पक्राउ परेका छन् ।
कैद तथा जरिवाना भुक्तान नगरिकन नौ वर्षदेखि फरार रहेका विराटनगर महानगरपालिका-२ दुर्गा चोकका २८ वर्षीय कुलदीप रायलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार लामो समयदेखि फरार रहेका कारण खोजी जारी राखिए पनि राय पक्राउ पर्न सकेका थिएनन् ।
विशेष सूचनाका आधारमा दुर्गा चोकबाटै दिउँसो २ बजेतिर उनलाई पक्राउ गर्न प्रहरी सफल भएको जानकारी एसपी खड्काले दिए । प्रहरीले चलाएको नकवजनी चोरी मुद्दामा रायलाई २०६९ असोज २३ गते जिल्ला अदालत मोरङले एक महिना १५ दिन कैद र ३९ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
तर कैद सजाय र जरिवाना भुक्तान गर्नुको साटो उनी भागिरहेका थिए । अदालतबाट दोषी ठहर भएको नौ वर्षपछि प्रहरीले पक्राउ गरेर पेस गरेसँगै अदालतले रायलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

