विराटनगर -बबरसिंह देवकुमारी थापा सेवा गुठी विराटनगरले विभिन्न क्षेत्रमा योगदान पुर्याउने ५ जना व्यक्तिलाई सम्मान गरेको छ । गुठीले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा ६ दशकदेखि नेपाली साहित्य र लोकसंस्कृतिका क्षेत्रमा योगदान पुर्याएबापत वरिष्ठ कवि तुलसी दिवसलाई नगद ५१ हजारसहित सम्मान गरेको छ ।
गुठीले दिवसलाई देवकुमारी थापा स्मृति सम्मान समर्पण गरेको हो । त्यस्तै ५१ हजार राशिको देवीकुमार थापा स्मृति सम्मानबाट कवि मेघराज मञ्जुल सम्मानित भएकाछन । कोभिडका कारण स्थगित गत वर्षको पुरस्कार पनि यस वर्ष समर्पण गरिएको गुठीका अध्यक्ष कविराज न्यौपानेले जानकारीदिए । त्यस्तै सोही अवसरमा बहरसिंह थापा स्मृति सम्मानबाट कलाकार विक्रमश्री र साहित्यकार शरण राई पुरस्कृत हुनु भएको छ ।
दुवैजनालाई जनही २५ हजार नगद र ताम्रपत्रले सम्मान गरिएको थियो । देवकुमारी थापाको बालसाहित्यका विषयमा विद्यावारिधि गर्ने दार्जेलिङका प्रा.डा. दिपेन घिसिङलाई पनि नगद २५ हजारसहित सम्मान गरिएको थियो । उहाँहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पुरुषोत्तम भट्टराई, गुठीका अध्यक्ष कविराज न्यौपानेलगायतले दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा प्राज्ञ विवश पोखरेल, समालोचक दधिराज सुवेदी, साहित्यकार प्रमोद प्रधान, कवि भरत गुरागाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गरेकाथिए ।

