विराटनगर - मोरङको केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ । वन्यजन्तुको सिकार खेल्न साथीहरुसँग जंगल गएका राईको आफैले बोकेको भरुवा बन्दुक अचानक पड्किएर छर्राले लाग्दा ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार साथीहरु गजेन्द्र राई र रुविन लिम्बूसँग उनी गयराति सिकार खेल्न केराबारी–३ कै बाघदले जंगलमा पुगेका थिए । उनीहरु जंगलमा रहेका मृग, बंदेल लगायतका जंगली जनावरको सिकार खेल्न गएका थिए । सिकार खेल्ने क्रममा बन्दुक पड्किएर घटनास्थलमै सिकारीको मृत्यु भए पनि प्रहरीले भने घटनाका बारेमा आज बिहान मात्रै जानकारी पाएको थियो ।

