विराटनगर -हावाहुरी र वर्षासँगै परेको चट्याङले लागेर मोरङको कानेपोखरीमा एक महिलाको मृत्यु भएको छ । चट्याङले लागेर कानेपोखरी गाउँपालिका–२ की ४० वर्षीया सुकवती राजवंशीको आज बिहान ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।
उनका अनुसार घरनजिकै रहेको बारीमा गाईगोरु सार्ने काम गरिरहेका बेला बिहान ९ बजेतिर परेको चट्याङले लागेर सुकवती गम्भीर घाइते भएकी थिइन् । उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारका लागि पुर्याएपछि चिकित्सकले घाइते महिलालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

