विराटनगर– सुन लगायतका बहुमूल्य धातुको लोभ देखाउँदै भारत लैजान खोजिएकी विराटनगरकी एक युवतीलाई तीन महिनापछि प्रहरीले उद्धार गरेको छ ।

मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङ नेतृत्वको टोलीले कञ्चनपुरबाट सकुशल उद्धार गरेर युवतीलाई हिजोसाँझ विराटनगर ल्याएको हो । प्रहरीका अनुसार घरपरिवारमा समेत सुन, चाँदीलगायतका बहुमूल्य धातुको लोभ देखाउँदै धनी बन्ने सपना बाँडेर तीन महिनासम्म आफ्नो कब्जामा राख्दै विराटनगर महानगरपालिका–४ की २४ वर्षीया युवतीलाई भारत कटाउन खोजिएको पुष्टि भएको छ । युवतीलाई विराटनगर महानगरपालिका–१९ का २५ वर्षीय दिनेश मण्डलले भारत लैजान खोजेका हुन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार अभिभावकलाई नै प्रलोभनमा पार्दै मण्डलले युवतीलाई गत माघ १० गते विराटनगरबाट लिएर हिँडेका थिए । घटना अनुसार टुनामुना गरेर घरबाट सुन निकालिदिन्छु भन्दै युवती र उनका अभिभावकसँग भेट गर्न मण्डल माघ ८ गते घरमै पुगेका थिए । उनले विराटनगरकै एउटा ज्वेलर्स (सुनचाँदी पसल) बाट ५० हजार रुपैयाँमा सुन किनेर लग्दै युवतीको घर परिसरमा जमिनमुनी गाडेको पुष्टि भएको खड्काको भनाइ छ ।

टुनामुना गर्नेभन्दै विभिन्न गतिविधी गरी त्यही सुन निकालेर देखाएकाले परिवारका सदस्य र आफन्त पनि विश्वासमा परेको पाइएको खड्काको भनाइ छ । अझै धेरै सुन, चाँदी लगायतका बहुमूल्य धातु निकालेर धनी बन्न सकिने भन्दै साथमा युवतीलाई लिएर हिँडेका मण्डल सम्पर्कविहीन बनेपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । लामो समयको अध्ययन एवं अनुसन्धानपछि युवतीलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको हो । विराटनगर ल्याइएकी युवती भने मानसिक रुपमा विक्षिप्त अवस्थामा छिन् । उनी कसैलाई केही पनि कुरा भन्न सक्ने अवस्थामा नरहेकाले थप ‘काउन्सिलिङ’ गर्दै घटनाका बारेमा बुझ्ने र वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको जानकारी खड्काले दिए ।

प्रहरीले मण्डललाई पनि पक्राउ गरेर हिरासतमा लिँदै घटनाका बारेमा अनुसन्धान थालेको छ । तीन महिनासम्म आफ्नो कब्जामा राखेर युवतीलाई उनले कञ्चनपुर हुँदै भारतको वनवासातिर पुर्याउन खोजेको पुष्टि भएको एसपी खड्काको भनाइ छ । प्रहरीका अनुसार अनुसन्धानबाट मण्डल र युवतीबीच त्यसअघि कुनै पनि सम्पर्क एवं सम्बन्ध स्थापित भएको देखिँदैन ।

परिवार र युवतीसँग पनि चिनजान नभएको पाइएको छ । त्यस कारण बेचबिखन एवं कुनै गलत नियत राखेर युवतीलाई भारत लैजाने प्रयास गरिएको आशंका प्रहरीले गरेको छ । एसपी खड्काले घटनालाई कानुनी रुपमा कसरी स्थापित गर्न सकिन्छ भन्ने बारेमा गहिरो ढंगले अनुसन्धान थालिएको जानकारी दिए ।